राजनीति

भारतीय राष्ट्रपतिको राष्ट्रपति भण्डारीलाई सुझाव, सबैलाई समेट्नुस्

भारतीय राष्ट्रपतिको राष्ट्रपति भण्डारीलाई सुझाव, सबैलाई समेट्नुस्

वैशाख ६ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले सबैलाई समेटेर संविधान कार्यान्वयन र निर्वाचन गर्न सुझाव दिएका छन् ।

मंगलबार भएको भेटका क्रममा मुखर्जीले सबैलाई समेटेर चुनाव गराउने नेपालको प्रयासलाई भारतले सराहना र सहयोग गर्नेसमेत उल्लेख गरे। राष्ट्रपति भण्डारीको सम्मानमा साँझ आयोजित रात्रिभोजअघि भएको भेटवार्तामा मुखर्जीले यस्तो बताएका हुन् ।

‘तपाईंहरू संविधान कार्यान्वयन र निर्वाचनमा हुनुहुन्छ । सबैको सहयोग लिएर, सबैलाई समेटेर यो काम गर्न खोज्नुभएको छ, तपाईंहरूको यो प्रयासलाई भारत सहयोग र समर्थन गर्छ,’ मुखर्जीलाई उद्धृत गर्दै भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने. उनका अनुसार राष्ट्रपति भण्डारीले संविधानका समावेशी व्यवस्थाको कार्यान्वयन र निर्वाचन सरकारको प्राथमिकता रहेको र यसमा भारतको शुभेच्छा नेपालले अपेक्षा गरेको बताएकी थिइन् ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालको लोकतान्त्रिक विकासक्रममा भारतको सधैँ सद्भाव रहेको बताए । तर, निर्वाचन र संविधान कार्यान्वयनबारे केही पनि उल्लेख गरेनन् । राष्ट्रपति भण्डारीसँग मंगलबार अपराह्न शिष्टाचार भेटका क्रममा पनि मोदीले आसन्न निर्वाचनबारे कुनै धारणा राखेनन् । तर, उनले विकास प्रक्रियामा सबैलाई साथ लिएर जाने आफ्नो नीति नेपालका लागि पनि सान्दर्भिक रहेको उल्लेख गरे । उनले राजनीतिक विषयमा प्रवेश नगरी नेपालको हितमा भारत सधैँ रहेको जवाफ दिएका छन् ।

राष्ट्रपतिसँगको भेटमा विदेशमन्त्री सुष्मा स्वराजले दुई देशको सम्बन्ध आपसी सम्झौतामा मात्र सीमित नरहेको बताइन् । परराष्ट्रमन्त्री डा. महतका अनुसार स्वराजको भनाइ थियो, ‘हाम्रो सम्बन्ध एमओयूभन्दा ठूलो र गहिरो छ ।

हामीबीच विश्वासको सम्बन्ध थप विकसित होस् । नेपालको हित विकसित हुने कुरामा भारत सहकार्य गर्न तयार छ ।’ महतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत कोही पनि जजमानु वा मेहमान नभएको भनाइ राखेका थिए। ‘हामी बराबर छौँ, कोही ठूलो–सानो छैनौ्,’ मोदीको भनाइ उद्धृत गर्दै महतले भने ।

यसअघि एउटा व्यापारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भारतीय विदेश राज्यमन्त्री भीके सिंहले पनि नेपाल र भारत समान रहेको, कुनै ठूलो–सानो नरहेको स्पष्ट पारेका थिए ।

नयाँ पत्रिका

Rastapit

विशेष