राजनीति

झापामा दुईजना महिला निर्वाचन अधिकृत

झापामा दुईजना महिला निर्वाचन अधिकृत
वैशाख–६ । अागामी वैशाख ३१ सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि झापामा दुईजना महिला निर्वाचन अधिकृत खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसरी खटिने महिला निर्वाचन अधिकृतमा गौरादह नगरपालिकामा शकुन्तला कार्की र मेचीनगर नगरपालिकामा इन्दिरा शर्मा छन् । उनीहरुले आ–आफ्ना कार्यक्षेत्रमा कुनै पनि किसिमको समस्या नभएको र स्थानीय जनता तथा राजनीतिक दलका प्रतिनिधि एवम् सरकारी कर्मचारीले पूर्ण सहयोग गरिरहेकाले निर्वाचन निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे । गौरादह नगरपालिकामा अहिले मतदानस्थल २५ र मेचीनगर नगरपालिकामा ३५ हुने निर्वाचन कार्यालय भद्रपुरबाट जानकारी प्राप्त भए पनि यी दुबै स्थानमा कति मतदान केन्द्र हुने सूचना नआएको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । नौवटा वडा रहेको गौरादह नगरपालिकामा पुरुष १७ हजार ३७३ र महिला १८ हजार ५९ सहित ३५ हजार ८८८ मतदाता छन्, भने १५ वटा वडामा विभाजित मेचीनगर नगरपालिकामा सबैभन्दा बढी पुरुष ३६ हजार ८५७ र महिला ३५ हजार ९३७ गरी ७२ हजार ७९४ मतदाता रहेको बताइएको छ । गौरादह नगरपालिकामा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाउनुभएकी निर्वाचन अधिकृत शकुन्तला कार्कीले निर्वाचन अधिकृतको कार्यालय वैशाख १२ गते खुल्ने र यसका लागि गौरादह नगरपालिकाको वडा नं–१ को वडा कार्यालय भवन प्रयोग गर्ने जानकारी दिए ।

झापा महिला निर्वाचन अधिकृत स्थानीय तहको निर्वाचन

विशेष