राजनीति

'निर्वाचनका लागि विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती'

'निर्वाचनका लागि विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती'
वैशाख ८ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि ११ जिल्लामा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती भएको बताएका छन्। आजदेखि धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले भने – “निर्वाचनलाई कसरी भयरहित बनाउने भन्ने विषय साझा जिम्मेवारी हो।” गृहमन्त्री निधिले निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न, उम्मेदवार र मतदातालाई सुरक्षा महसुस हुने वातावरण निर्माण गर्न सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्दै ढुक्क र निर्भिक भएर कुनै पनि भ्रममा नपरी काम गर्न निर्देशन दिए। एघार जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप पर्छन्। यसैबीच पत्रकारसँग कुरा गर्दै गृहमन्त्री निधिले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण निर्माण हुन लागेको बताए। उनले निर्वाचन बिथोल्नेप्रति सरकार कडा ढङ्गले प्रस्तुत हुने जानकारी दिँदै ढुक्क भएर निर्वाचनमा भाग लिन उम्मेदवार र मतदातालाई आग्रह गरे। गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी छन् । अधिकांश सहभागीले विप्लव माओवादीको निर्वाचन लक्षित कार्यक्रम, सुरक्षाका लागि सवारी साधनको अभाव, दुर्गम क्षेत्रमा आवश्यकताअनुसार हेलिकप्टरको प्रयोगलगायतका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

Bimalendra Nidhi

विशेष