राजनीति

नेपाली कांग्रेसले बाेलेकाे पूरा गर्ने सभापति देउवाकाे दाबी

नेपाली कांग्रेसले बाेलेकाे पूरा गर्ने सभापति देउवाकाे दाबी
वैशाख ९ । नेपाली काँग्रेसका शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रस्थान प्राप्त गर्ने बताएका छन् । जनताले पत्याएको पार्टीका रुपमा काँग्रेस स्थापित भइसकेको दाबी गर्दै विसं २०७० को संविधानसभा निर्वाचनमा प्राप्त गरेको जनविश्वास पुनः आसन्न स्थानीय निकायको निर्वाचनमा प्राप्त गर्ने उद्घोषसमेत गरेका छन् । अखण्ड नेपाल पार्टी समानान्तरको काँग्रेसमा प्रवेश कार्यक्रमलाई शनिबार पार्टी मुख्यालय सानेपामा सम्बोधन गर्दै शीर्ष नेताले स्थानीय निकायको निर्वाचनमा सबै दलले भाग लिनसक्ने वातावरणका लागि विशेष गरी तराई-मधेस पार्टीसँगको छलफल अन्तिमचरणमा पुगेको जानकारी दिए । काँग्रेस केन्द्रीय समितिको विसं २०७२ माघ ११ गते बैठकले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेले आफ्नो पार्टीलाई काँग्रेसमा प्रवेश गर्न दिनुभएको निवेदनलाई अनुमोदन गरेको थियो । संयोजक पाण्डेसहित ४५ जिल्लामा रहेका जिल्ला कार्यसमितिसहित एक हजार भन्दा बढी सो पार्टीका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । सभापति शेरबहादुर देउवाले काँग्रेस जनताको विश्वास जितिसकेको पार्टीको रुपमा स्थापित भएको चर्चा गर्दै विपन्न जनताको आर्थिक एवम् सामाजिक जीवनलाई माथि उठाउन ‘नेकाले जे बोल्छ, त्यो पूरा गर्छ’ भने । उनले शान्ति, प्रजातन्त्रका लागि काँग्रेसले सात सालदेखि जनताको अधिकारका लागि अनवरत रुपमा सङ्घर्ष गर्दै आएको र आगामी दिनमा जनताको आर्थिक समृद्धि र उन्ननयका लागि काम गर्ने बताए । सो अवसरमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक पाण्डेसहित अन्य नेतालाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका थिए । सो अवसरमा वरिष्ठ नेता पौडेलले आसन्न स्थानीय निकायको निर्वाचनमा तराई– मधेसवादी दलको सहभागिता गराउन पार्टीले अन्तिम प्रयास जारी राखेको चर्चा गर्दै ती दलले उठान गरेका माग सम्बोधन गर्न पार्टी सकारात्मक छ भने । उनले निर्वाचन मार्फत राजनीतिक स्थायित्व दिई देशलाई समृद्धिको यात्रामा हिँडाउन पार्टीले नेतृत्व लिने उल्लेख गरे । महामन्त्री डा। कोइरालाले निर्वाचनलाई आफ्नो पार्टीले प्रतिष्ठाको विषय बनाएको हुँदा गत संविधानसभाको निर्वाचनमा जनताले दिएको विश्वास आगामी निर्वाचनमा समेत प्राप्त हुने विश्वास व्यक्त गरे । कोषाध्यक्ष यादवले राष्ट्रियता, प्रजातन्त्र र समाजलाई बलियो बनाउँदै देशलाई समृद्ध बनाउन काँग्रेसको स्थानीय तहमा नेतृत्व आवश्यक रहेकोमा जोड दिइन् । केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानलाई सर्वस्वीकार्य र जीवन्त बनाउन पार्टीले अग्रणी भूमिका निर्वाह गरेको बताए । संयोजक पाण्डेले आगामी दिनमा नेकाको आदर्श र सिद्धान्तलाई पालना गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

Nepali Congress Sher Bahadur Deuwa

विशेष