अभिलेख

मधेसका सिमित जातले सबै मधेसीको हक खोसेर खाएका छन् (भिडियोसहित)

मधेसका सिमित जातले सबै मधेसीको हक खोसेर खाएका छन् (भिडियोसहित)


वैशाख–१० । सुवोधराज प्याकुरेल राजनीतिक विषयमा तिखो टिप्पणी गर्ने मानवअधिकारकर्मी हुन भन्दा फरक नपर्ला । अनौपचारिक क्षेत्र सेवा केन्द्र –इन्सेकका अध्यक्ष प्याकुरेलले नेकपा एमालेको आठौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । नेपालमा हुन लागेको निर्वाचन, मधेसी अधिकार, मधेसी दललगायत विषयमा प्याकुरेलसँग केही दिन अघि नेपालआजले कुराकानी गरेको थियो । कुराकानीका क्रममा उनले स्थानीय तहको चुनाव हुन नदिने दलहरुको मोहन बैद्यको जस्तो हालत हुने बताए । ‘मधेसी दलहरुले चुनावमा आउन नचाएपनि मधेसका जनता चुनावमा भोट हाल्न आतूर छन्’ प्याकुरेलले भने –‘मधेसी नेताहरुले केही जिल्लामा चुनाव भाड्न खोजेपनि अन्य जिल्लामा चुनाव हुने वातावरण छ ।’

कांग्रेस, एमाले र माओवादीलगायत पार्टीले मधेसी जनतालाई विभेद गरेको भनेर मधेसी दलहरुले तराईमा भ्रम फैल्याएको उनले बताए । प्रमुख दलहरुले मधेसी जनताहरुलाई कानुनबाट नै विभेद गरेका भन्दै मधेसी दलहरुले जनतामा भ्रम छरेको उनको आरोप छ । ‘तर, मधेसी जनताहरुलाई न त कानुनले विभेद गरेको छ, न कुनै राजनीतिक पार्टीहरुले ।’प्याकुरेल भन्छन्– ‘सरकारी निकायमा सिमित मधेसी जातले ९० प्रतिशत ओगटेका छन् । ती सिमित जातका मानिसहरुले अरुको भाग खोसेका छन् । तर दोष अरुलाई लगाएका छन् ।’


प्याकुरेलका अनुसार मधेसी जनताहरु चुनाव भाड्न खोज्नेहरुलाई स्वीकार गर्दैनन् । उनीहरु चुनाव चाहन्छन् । ‘प्रजातन्त्रको बिउ मधेसबाट नै रोपिएको हो । मधेसको जनतामा प्रजातन्त्रले जरा गाडिसकेको छ । धेरै नेताहरुले मधेसबाट नै राजनीति गरेका छन् । मधेसले संर्घष गर्न सिकाएको छ ।’ उनले भने–‘ त्यसैले चुनाव हुन्छ । सानदार तरिकाले चुनाव हुन्छ । किनकि, यो भन्दा अगाडि पनि चुनाव हुन नदिन षड्यन्त्र गर्नेहरु धेरै थिए ।’

एमाले पार्टीलाई मधेसमा जनताले मधेस विरोधी नभनेको उनको तर्क छ । देशको मुद्धामा प्रष्टसंग उभिएकाले अन्य पार्टीहरुले मधेस विरोधी पार्टी भन्दै एमालेलाई आरोप लगाएको प्याकुरेल बताउछन् । कुराकानीको क्रममा उनले माओवादीले देशमा परिवर्तन ल्याउन मुख्य भूमिका खेलेको समेत बताएका छन् ।

विशेष