देश टुक्रा पार्छौं भन्नेहरुसँग पनि माओवादी नरम छ (भिडियोसहित)
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालको मतमा अब नेपालको राजनीतिको पाना यति धेरै अगाडि बढीसक्यो कि फेरि राजतन्त्र फर्किने कुनै गुञ्जायस छैन । राजतन्त्र फर्किने अवस्था नभए पनि राष्ट्रियता, अखण्डतामा चुनौति दिने तत्वहरु भने नेपालमा छन भन्ने नेता नेपालको दाबी छ । उनको मतमा सबैभन्दा खतरनाक त माओवादी नै छ । यो पार्टीले विखण्डनकारीसँग पनि नरम व्यवहार गरेको नेता नेपालले आरोप लगाएका छन् । प्रस्तुत छः नेपालको कम्युनिस्ट आन्दोलन, समसामयिक राजनीतिमा केन्द्रीत भएर गरिएको कुराकानीको संपादीत अंश ।
नेपालको विगतको कम्युनिष्ट आन्दोलनलाई पछि फर्केर हेर्दा यहाँले कसरी हेर्नुभएको छ ?
नेपालको कम्युनिष्ट आन्दोलन सुरुदेखि नै नेपालको लोकतन्त्रको र राष्ट्रियताको आन्दोलनसँग र नेपाली जनताको जनजीवनसँग गाँसिएर अघि बढ्यो । विषय केन्द्रित र सिद्धान्तमा सिमित नभएको हुनाले यसले जनताको भावनालाई समेटेको हुनाले यसले आधार विस्तार गर्दै गयो । आधार विस्तार गर्दै अहिले यसले आफ्नै स्थान बनाइकेको छ । आधार विस्तार गर्ने क्रममा अनेक उतार चढावहरु आए, अनेक एकता र विभाजनहरु पनि भए । यी समस्या पार गर्दै अहिले यो जुन ठाउँमा छ त्यो गौरव गर्न लायक छ । बांगो टिंगो अवरोधहरुलाई पन्छाउँदै आफ्नो विषय केन्द्रित हुँदै गयो । आन्दोलनको क्रममा कोही मानिस बाधाको रुपमा पनि आए, कोही पलायन गरेर गए, सुख दुःखका क्षणबाट गुज्रिदै अघि बढ्यो । जनतासँग जोडिदाँ सबै ठीक थियो । जनताबाट जोडिन छोडेपछि यसले ओरालो लाग्ने अवस्थाको सामाना गर्नुपर्यो । मुख्यरुपमा यो जनतासँग जोडिएको आन्दोलन हो । समग्रमा यो गौरवशाली र इतिहास बोकेको छ ।
समग्र रुपमा यो आन्दोलनमा कत्तिको सफल भए जस्तो लाग्छ ?
आंशिक रुपमा सफल भएका छौँ । राष्ट्रिय एकतामा उभिएर राष्ट्रिय संकटलाई समयसमयमा टार्ने कामहरु गरिरहेकै छौँ । लोकतन्त्रको आन्दोलनको अगुवा भएर त्यसलाई उचाईमा पुर्याउने काममा सफल पनि भएका छौँ । तर, अझै पनि आर्थिक विकासको आन्दोलनलाई गतिका साथ चलाउन र त्यसलाई हासिल गर्न बाँकी छ । सामाजिक न्यायको नाममा अनुचित कुराहरु पनि भित्रिए । जातीय र क्षेत्रीय भावलाई भड्काउने कुराले हाम्रो आन्दोलनलाई संकटमा पुर्यायो ।
के के कुरामा सफल भइयो र के के कुरामा सफलता पाउन बाँकी छन् ?
कम्युनिष्ट आन्दोलनले राष्ट्रियताको पक्षलाई उठान गरेको छ, देशभक्तिको भावनालाई उठान गरेको छ । नेपालको सार्वभौमसत्ता , अखण्डता र स्वाभीमानको रक्षा कसरी गर्नुपर्छ र समग्रतामा नेपालमा जातीय एकता कायम गर्ने कुराको उठान गर्यो । लोकतन्त्रको खम्बाको रुपमा खडा भयो । कम्युनिष्ट पार्टीले पनि राष्ट्रियता बचाउँछ भन्ने विश्वास दिलायो । मूल रुपमा लोकतन्त्र र प्रजातन्त्रको खम्बा कांग्रेस हो भन्ने मान्यतालाई बदल्नको लागि भूमिका खेल्यो । त्यस्तैगरि लोकतन्त्रको मूल्य र मान्यताको लागि जति निष्ठाकासाथ कम्युनिष्ट पार्टी लाग्छ अरु लाग्दैनन् भन्ने कुरालाई प्रमाणीत गर्यौं । अरु भनेका किताबी लोकतान्त्रिकवादी हुन् र कम्युनिष्टहरु व्यवहारिक लोकतान्त्रिकवादी हुन् भन्ने कुरा स्थापित गर्यो । तर, जनताको जन जीवन सँग जोडिएको विषय भने बाँकी नै छ ।
राष्ट्रियता र लोकतन्त्रमा कत्तिको ‘थ्रेट’ आएको महशुस गर्नुहुन्छ ?
राष्ट्रियतामा थ्रे्ट समय समयमा त आइरहेकै छ । देशभित्र नै देशघाती तत्वहरु विद्यामन भइदिए । अचम्म के छ भने कम्युनिष्ट पार्टीका पक्षपोषकहरुबाट नै राष्ट्रघाती कामहरु भए । राष्ट्रघाती कामहरुलाई प्रोत्साहन दिने कामहरु पनि भए र भइरहेका पनि छन् । हाम्रै भौगोलिक अखण्डतामा आँच पुग्ने किसिमको कुरामा कम्युनिष्ट पार्टीको एउटा अर्को घटक माओवादी पनि फसिरहेको देख्दा हामी ठूलो संकटमा पर्ने अवस्था देखिन्छ । तर यसलाई चिर्नैका लागि गलत व्याख्या गर्ने व्यक्तिहरुलाई एक्ल्याउनु पर्छ ।
माओवादी कसरी राष्ट्रघाती भयो ?
माओवादीले गरेको आत्माघाती काम त देखिन्छ नै । देश टुक्राउने प्रवृत्तिमा पनि माओवादी नरम भएको देख्दा यसैबाट उनीहरुमा खोट देखिन्छ । नेपाला केही पार्टीहरु क्षत्रीयवादको नारा लगाइरहेका छन् र देश टुक्रयाउनमा लागि परिरहेकका छन् । अचम्म के छ भन्दा हिजो माओवादी पार्टीको खम्बा भनिएका व्यक्तिले नै मधेस छुट्टै राष्ट्र हो भन्ने कुराको व्याख्या गरिरहेका छन् । त्यसकारण यस्ता किसिमले देशलाई आघात पुर्याउने र दिनदहाडै दर्जनौँ पटक नेपाली भूमिमा विदेशी दूतावास धाउनेहरु र निर्देशन प्राप्त गर्नेहरु नै खतरनाक बनेका छन् ।
राष्ट्रघाती भन्नुभयो, तर अहिलेको सरकारले राष्ट्र टुक्राउनुपर्छ भन्ने सिके राउतलाई जेलमा हाल्यो नि ?
त्यो ठूलो दबाब पछि सिके राउतलाई पक्राउ गरिएको हो । तराइमा विभिन्न भागमा उनीहरुले व्यापक प्रचार गर्दा कुनै रोक लगाइएन । सिके राउतकोजस्तो प्रवृत्ति बोकेर हिड्नेलाई राज्यले अहिलेसम्म पनि छुट दिइरहेको छ र गम्भीरता हुनुपर्ने ठाउँमा गम्भीर भएको छैन । यसबाट म बहुत चिन्तित छु ।
लोकतन्त्रमा सिध्याउने खेल देख्नु हुन्छ कि हुन्न ?
लोकतन्त्रमा आक्रमण ल्याउने तयारी देखिन्छ तर त्यसलाई पछार्न सक्नुपर्छ भनेर लाग्नुपर्छ । दक्षीण शक्ति र राजावादी शक्तिबाट र राजालाई फर्काउन चाहने पक्षबाट पनि लोकतन्त्रमा थ्रेट देखिन्छ । केही समयअघि शेरबहादुर देउवाले चिनियाँ मूलका व्यक्तिलाई भेट्दा माफी नै माग्नुपर्ने स्थिती आएको थियो । तर, चिनियाँहरुले पूर्वराजा
ज्ञानेन्द्रलाई पटक पटक भेटिरहेको अखबारमा सुनिन्छ । यसमा तपाईको धारणा के छ ?
जहाँसम्म ज्ञानेन्द्रको मनको चाहना हो । यो मनको लड्ड् घ्यूसँग खानुजस्तै हो । नेपालको इतिहासको पांग्रा धेरै अघि बढिसकेको छ । नेपालमा राजतन्त्र फेरि फर्किदैँन । त्यसलाई नेपाली जनताले पनि स्वीकार पनि गर्दैनन् । यो प्रवृतिलाई प्रोत्साहित गर्ने काम भने गर्नु हुँदैन । नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई मानेर लाग्दा शासन प्रणालीबारे भिन्न मत राख्न पाइन्छ । कमल थापाले आफ्नो मत राखेर संविधानमा बस्न पाउँछन् भने त्यो विचार राखेर ज्ञानेन्द्र पनि पाउँछन् । तर, जनतालाई चेतना दिने कुरामा भने प्रष्ट हुनुपर्छ ।
ज्ञानेन्द्रलाई चिनियाँले भेट्नुको अर्थ के हो जस्तो लाग्छ ?
ज्ञानेन्द्रलाई चिनियाँले किन भेटे भन्ने कुराको मलाई ज्ञान छैन । आधिकारिक रुपमा भेटेको भन्ने कुरा मैले सुनेको छैन । हल्लाको विषयमा जवाफ दिने कुरा आउँदैन । तर चिनियाँहरुले आफ्नो धारणा परिवर्तन गरेको भन्ने मलाई लाग्दैन । जहाँसम्म मलाई लाग्छ, नेपाली जनताको चाहाना भनेकै गणतन्त्र र सामन्तीवादलाई मुक्त गरेर आर्थिक विकास हुनु हो ।
चुनावी परिवेश चलिरहेको छ । चुनावप्रति कत्तिको आशावादी हुनुहुन्छ ?
२०६४ मा भएको चुनावमा माओवादीले जित्नु अपवाद नै थियो । जनतालाई प्रलोभन देखाएर धेरै सिट माओवादीले ल्यायो । तर अहिले त्यो परिस्थितीबारे नसोचे पनि हुन्छ । २०४८ सालको चुनावमा कांग्रेज पार्टीले बहुमत त ल्यायो तर मुलुक राम्ररी चलाउन सकेन । २०५१ सालको चुनावमा कम्युनिष्ट पार्टीले ठूलो सिट हासिल गरेर सबैभन्दा ठूलो पार्टीको नाममा स्थापित हुन सफल भयो । त्यसभन्दा पछि २०५६ सालको स्थानीय चुनावमा पनि कम्युनिष्ट पार्टीले जित नै हासिल गर्यो । यसले कम्युनिष्ट पार्टीप्रति रहेको जनताको अभिरुचिलाई झल्क्याउँछ । २०६८ सालको चुनावमा एमाले पार्टीले कम सिट ल्यायो । तर, समग्रतामा एमालेले त्यत्तिखेर पनि झण्डै ६४ प्रतिशत सिट हासिल गर्यो । त्यो समय पनि किर्तिमान नै कायम गर्यो । २०७० मा पनि कम्युनिष्टमा घटक देखिएपनि यसले दोस्रो स्थान हासिल गरेर कम्युनिष्ट आन्दोलन जोगाउनै पर्छ भन्ने मान्यता कायम गरेको छ ।
नेपालमा एउटै कम्युनिष्ट पार्टी हुने सम्भावना देख्नुभएको छ की छैन ?
एउटै कम्युनिष्ट पार्टी हुन पनि विचार मिल्नुपर्छ । विचारमा एकता ल्याउन पनि सकिन्छ । तर व्यक्तिवादले यो सम्भव छैन । आफू केन्द्रित सोचले सम्भव दिँदैन । मैले र मेरा मान्छेले के पाउँछन् भन्ने सोचले गर्दा सबैलाई एकै ठाउँमा मिलाउनका लागि यो काम फलामको चिउरा चपाउनु सरह हुन्छ ।
madhav kumar nepal