राजनीति

'सरकार मोर्चाबीच सम्झौता भएको छैन'

'सरकार मोर्चाबीच सम्झौता भएको छैन'
वैशाख - १० । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र मधेसी मोर्चाबीच निर्वाचनको सन्दर्भमा कुनै प्रकारको सम्झौता नभएको बताएका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा अाइतबार विराटनगरमा आयोजित विरोधसभामा उनले सम्झौता भएको विषयमा सञ्चार क्षेत्रले समाचार प्रसारण गरेर आतङ्क मच्चाइदिएको आरोप लगाए। उनले संविधान संशोधन र राष्ट्रिय सवालका विषयमा सम्बोधन नगरिएसम्म निर्वाचनमा सहभागी नहुने पनि स्पष्ट पारे। आन्दोलनको भावनालाई नसमेटिएको भन्दै संविधानमा देखिएका त्रुटीलाई सच्याइनुपर्ने विषयमा जोड दिँदै उनले मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम र थारुको भावनालाई समेटिनुपर्ने आवश्यकता माथि जोड दिए। सोही सभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु चुनावविरोधी नरहेको र चुनावी वातावरण बनाउने दायित्व सरकारको रहेको बताए। उनले चुनावी वातावरण बनाउन संविधान संशोधन, विवादित संरचनामा परिवर्तन गर्नुपर्ने, अन्तरिम संविधानमा गरिएको नागरिकता, भाषालगायत विषयलाई यथावत राख्नुपर्ने आवश्यकतामा जोड दिए। सरकारले मधेसी मोर्चासँग गरेका तीनबुँदे सहमति लागु गर्नुपर्ने र भ्रम फैलाउने कार्य बन्द गर्नुपर्ने उल्लेख गर्दै उनले झुठा मुद्दा फिर्ता हुनुपर्ने, आन्दोलनको क्रममा घाइतेको उपचार खर्च र मृतक परिवारलाई सहिद घोषणा गर्नुपर्ने माग दोहोर्‍याए। सङ्घीय लिम्बूवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले सीमाङ्कनमा हेरफेर हुनुपर्नेमा जोड दिँदै मधेसी, लिम्बूवान, ताम्सालिङ सबैले आफ्ना अधिकारका लागि मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री डा सुरेन्द्र झा, राजपाका केन्द्रीय सचिव दिलीप धाडेवा, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम् सांसद उषा यादवलगायतले मोर्चा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

upendra yadav

विशेष