राजनीति

मधेशी दल चुनावको तयारीमा

मधेशी दल चुनावको तयारीमा

वैशाख १२ । सरकारले फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले चुनावको आन्तरिक तयारी थालेका छन् । प्रधानमन्त्री, गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीसँग यी दुई दलले सोमबार बिहान गरेको छलफल सकारात्मक भएको छ । छलफलपछि आयोगले मोर्चाको मागअनुसार उम्मेदवारी मनोनयन दर्ता गर्ने समय ३ दिन थपेको छ । यसअघि १६ गतेका लागि तोकिएकोमा सारेर १९ गते पुर्‍याइएको छ ।

छलफलमा राजपाले छाता चुनाव चिह्न दिन गरेको आग्रह निर्वाचन आयोगले मतपत्र छापिइसकेको कारण देखाउँदै अस्वीकार गर्‍यो । यसको विकल्पमा राजपाका नाममा एकीकरण हुनुअघिका ६ दलमध्ये कुनै एकको चुनाव चिह्न प्रयोग गर्न आयोगले सुझायो । प्रचारप्रसार भने राजपाकै नामबाट गर्न सकिने आयोगका पदाधिकारीहरुले बताए।

हामीले छाता चुनाव चिह्न माग गर्‍यौँ त आयोगका पदाधिकारीले राजपामा आबद्ध ६ दलमध्ये कुनै एकको चुनाव चिह्न प्रयोग गर्न र राजपाको नामबाट जनतामा जान सकिने सुझाव दिनुभयो, राजपाका नेता केशव झाले भने ।  उम्मेदवार मनोनयनका लागि पार्टीका तर्फबाट दिइने टिकटमा आधिकारिक हस्ताक्षर राजपामा आबद्ध ६ दलमध्ये कुनै एक दलको नामबाट अध्यक्ष मण्डलका सबै ६ सदस्यले गर्न सक्ने सुझाव आयोगले दियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई चुनावमा ल्याउन आयोगका तर्फबाट आवश्यक बातावरण बनाइदिन आग्रह गरेका थिए ।

नागरिक

Madesi

विशेष