देश राजनीति

प्रमुख पदमा महिलाको प्रतिनिधित्व शून्य

प्रमुख पदमा महिलाको प्रतिनिधित्व शून्य
वैशाख - १२ । आसन्न स्थानिय तहको निर्वाचनमा प्रमुख पदमा महिलाको उम्मेदवारी र प्रतिनिधित्व शून्य हुने भएको छ । वडा अध्यक्ष, गाँउपालिकाको प्रमुख र नगरपालिकाको प्रमुख पदमा टिकट दिएर जित्ने जिताउने त कुरै छोडौँ कुनै पनि दलले सिफारिससमेत गरेका छैनन् । जाजरकोटमा तीन नगरपालिका र चार गाँउपालिका रहेका छन् । ति सात वटै तहमा गरी ७२ वटा वडा रहेका छन् तर कुशेगाँउपालिकामा माओवादी केन्द्रले पार्वती थापा आस्थालाई मात्र सिफारिस गरेको थियो । अन्य कुनै पनि पार्टीले वडा देखी गाँउपालिका हुँदै नगरपालिका सम्मको प्रमुख पदमा महिलालाई सिफारिस समेत गरेका थिएनन् । महिलाहरु कुनै पनि पार्टीकी कुनै पनि महिलाले पहिलो पदमा लड्न नपाएपछि दोस्रो पदमा सिमित हुने भएका छन् । जिल्लामा क्रियाशिल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा लगायतका पार्टीले महिला सहभागिताका नारा र भाषण दिने गरेपनि ब्यवहारमा पर्दा सवै पार्टीले कुरा एउटा गर्ने काम एउटा गर्ने गरेको अधिकारकर्मी प्रमिला सिहको भनाई छ । नेपाल महिला संघकी जिल्ला अध्यक्ष मैना कार्की रावलले महिला उत्थानका कुरा समावेशीका कुरा नारामै सिमित रहेको बताईन । प्रमुख वा उपप्रमुख मध्य एक तहमा महिला अनिवार्य उम्मेदवार बनाउनु पर्ने कानुनी बाध्यता नभएको भए कुनैपनि दलले उपप्रमुखमा समेत महिलालाई अवसर दिने अवस्था देखिएन उनले भनिन–‘यो ५१ प्रतिशत महिला प्रतिको अविश्वास हो ।’ त्यस्तै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सचिव समेत रहेकी माओवादी केन्द्रबाट कुशेगाँउपालिकाको प्रमुखमा सिफारिस भएकी पार्वती थापाले महिलाहरु केही गर्न सक्दैनन् भन्ने पुरुषवादी चिन्तनका कारण महिलाहरुले अवसर नपाएको बताईन । युद्धताका समावेशीका खवै नारा घन्काउने माओवादी केन्द्रमा पनि अहिले अन्य पार्टी जस्तै अवस्था देखियो । यो दुर्भाग्य हो । उनले भनिन–‘महिला भएकै कारण मलाई टिकट दिईएन यो सरासर अन्याय हो । म स्वतन्त्र भएपनि उम्मेदवारी दिन्छु ।’ एमालेको प्रदेश समिति सदस्य कौशिलावती खत्रीले महिलालाई अवसर दिने कुरामा सवै पार्टीको अवस्था उस्तै रहेको धारणा राखिन । बाध्यकारी कानुनका कारण मात्र महिलाहरुलाई चुनावमा लड्ने स्थान दिईएको छ तर, दोस्रो पदमा मात्र सिमित पारिएको छ उनले भनिन–‘महिलाले पनि पुरुष जस्तै गरेर स्थानिय तह चलाउन सक्षम छन् ।’ महिलाहरुले प्रमुख पदमा महिलालाई अवसर नदिएपनि सात स्थानिय तहमा उपप्रमुख, ७२ वडामा महिला र दलित महिला गरी जम्मा एक सय ५१ जना महिलाहरु एकै पटक स्थानिय तहको कार्यकारी पदमा निर्वाचित हुनेछन् ।

स्थानिय तहको निर्वाचन

विशेष