राजनीति

पाँच लाख युवालार्इ रोजगारी सिर्जना गर्नेदेखि शत्प्रतिशत साक्षरतासम्म, यस्ताे छ कांग्रेसको घोषणापत्र

पाँच लाख युवालार्इ रोजगारी सिर्जना गर्नेदेखि शत्प्रतिशत साक्षरतासम्म, यस्ताे छ कांग्रेसको घोषणापत्र
वैशाख १२ । नेपाली कांग्रेसले मुलुकलाई आगामी १० वर्षभित्र एउटा मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने ध्येयका साथ पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा मंगलबार आयोजित विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् । मध्यम आययुक्त गतिशील राष्ट्र बनाउन कम्तीमा पनि एक दशकसम्म वार्षिक सातदेखि १० प्रतिशतसम्मको उच्च आर्थिक वृद्धिदर निरन्तर हासिल गर्दै हरेक वर्ष अर्थतन्त्रले तीनदेखि पाँच लाख रोजगारीका अवसर सिर्जना गर्ने कांग्रेसले जनाएको छ । यो उद्देश्य हासिल गर्न अभूतपूर्व परिमाणमा नेपाली कांग्रेसले स्वदेशी र विदेशी लगानीको परिचालन गर्नेछ । यो लगानी हाम्रा सम्भावनाका क्षेत्र ऊर्जा, पर्यटन र कृषिका साथै उत्पादनमूलक उद्योग र नयाँ प्रविधि एवं व्यापारयोग्य सेवामा आकर्षित गरिने घोषणापत्रमा उल्लेख छ । ‘कांग्रेस यो घोषणापत्रमार्फत् नयाँ संविधानका आधारभूत मान्यताको पालना र कार्यान्वयनप्रति पूर्ण प्रतिबद्ध रहेको घोषणा दृढतापूर्वक गर्न चाहन्छ’–भनिएको छ । यो प्रतिबद्धता पूरा गर्न नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण राजनीतिक शक्ति, संगठन र संयन्त्रलाई परिचालित गर्ने जनाएको छ । घोषणापत्र प्रतिबद्धतापत्रमात्र नभएर कार्यान्वयनको सच्चा संकल्प भनेको छ । ‘स्थानीय तहमा उद्यमशीलताको लहर ल्याउन युवाको सीप विकास गर्दै कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र पर्यटकीय गतिविधिको विस्तारका लागि नेपाली कांग्रेसले विशेष जोड दिनेछ । उन्नत बीउ, कर्जा र बीमा, वैकल्पिक ऊर्जा, साना जलविद्युत् र सिँचाइका आयोजनामार्फत् उत्पादकत्व बढाउनु कांग्रेसको लक्ष्य हुनेछ’–घोषणापत्रमा उल्लेख छ ।
रोजगारी कांग्रेसले गाउँ र नगरका युवालाई प्रोत्साहन दिइ स्वरोजगारको प्रवद्र्धन गर्न एक ‘युवा उद्यम चुनौती कोष’को कार्यान्वयन गर्ने जनाएको छ । नवीन सोचसहितको युवा जाँगर र उद्यमशीलता प्रयोग गर्न १६ देखि ४५ वर्षसम्मका युवालाई लक्षित गरी २५ं२५ं५० को सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याइनेछ उल्लेख गरेको छ । यो वित्तीय लगानी कार्यक्रममा २५ प्रतिशत अंश युवा उद्यमीको आफ्नै लगानी, २५ प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत सहुलियतपूर्ण ऋण सहायता रहनेछ ।
कृषि तथा खानी कांग्रेसले कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धि स्थानीय सरकारले कृषि, भूमि, वन, सिँचाइ र खानेपानीजस्ता क्षेत्रमा प्राकृतिक स्रोत व्यवस्थापनमा संलग्न स्थानीय समुदायलाई भरपर्दो सहयोगी संस्थाका रुपमा परिचालन गर्ने जनाएको छ । ‘जल, जमिन, जंगल, जडीबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार’ भन्ने मान्यतामा स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने कांग्रेसको प्रतिबद्धता छ । खानी तथा खनिजपदार्थको संरक्षण र उपयोगसम्बन्धी नीति र मापदन्ड तयार गरी कार्यान्वयन गर्नेछ । ढुंगा, गिट्टी, बालुवा, माटो, स्लेट आदि खानीजन्य पदार्थको सर्भेक्षण, संरक्षण, उत्खनन र उपयोगसम्बन्धी कार्य दर्ता गर्ने, अनुमति दिने, नवीकरण र खारेजी गर्ने कार्य स्थानीय सरकारले व्यवस्थित गर्नेछ । साथै, स्थानीय विकास परियोजना वित्तीय संघीयताको मूल मर्मअनुसार नेपाली कांग्रेसले संघीय बजेटको ५० प्रतिशतभन्दा बढी हिस्सा (आगामी आर्थिक वर्षमा करिब ६०० अर्ब रुपैयाँ) सिंहदरबारबाट प्रदेश, गाउँ र नगरपालिकामा सोझै पठाउने सो पार्टीको योजना छ ।
सामाजिक सुरक्षा कांग्रेसले ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिलाई सुविधा ज्येष्ठ नागरिकलाई दिइरहेको हालको मासिक सामाजिक सुरक्षाभत्तामा उल्लेख्य वृद्धि गर्ने र प्रत्येक दुई वर्षमा यसको पुनरावलोकन गरिने उल्लेख गरेको छ । प्रत्येक गाउँपालिकामा एउटा एकीकृत ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना गरिनेछ । यी आश्रम सफा, सुविधासम्पन्न र ज्येष्ठ नागरिकको एक्लोपनाको समस्यालाई सम्बोधन गर्ने गरी सम्मानजनक बनाइनेछ । आश्रममा ज्येष्ठ नागरिकलाई आवास, भोजन, स्वास्थ्य, आध्यात्मिक सत्संग, मनोरन्जन र भ्रमणलगायत सबै सेवा निःशुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ । सम्पन्न, स्वास्थ, शिक्षित र क्रियाशील नागरिक, शान्त र एकताबद्ध परिवार, सामाजिक सद्भावसहितको समतामूलक समाज र समावेशी प्रतिनिधित्व भएको लोकतान्त्रिक समाजवादी राज्यको स्थापना नै नेपाली काँग्रेसको लक्ष्य हुने घोषणापत्रमा उल्लेख छ । यो लक्ष्यप्रति समर्पित हुँदै आगामी १० वर्षभित्र नेपालमा भोकमरी र कुपोषणको अन्त्य गर्न तथा आर्थिक असमानताको न्यूनीकरण गर्दै कुल जनसंख्यामा निरपेक्ष गरिबीको रेखामुिन रहेको जनताको अंश तीन प्रतिशतभन्दा मुनि ल्याउन नेपाली कांग्रेसले संकल्प गरेको छ ।
शिक्षा र स्वास्थ्य कांग्रेस स्थानीय सरकारको ५ वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीमाझ शत्प्रतिशत साक्षरता हासिल गर्ने संकल्प गरेको छ । स्थानीय सरकारले माध्यमिक र प्राविधिक (पोलिटेक्निक) शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउनेछ । शिक्षाको प्रत्येक तह र अवसरमा लैंगिक समता सुनिश्चित गर्नेछ । आगामी १० वर्षभित्र शिशु मृत्युदरलाई पाँचभन्दा कम र मातृ मृत्युदरलाई ९प्रति एक लाख जीवित जन्ममा० ५० भन्दा कम गर्ने अठोट गर्दछ । कांग्रेसले मलेरिया, कालाज्वर, डेंगु, हेपाटाइटिसलगायत पानीजन्य रोगबाट कसैको पनि मृत्यु नहुने स्वास्थ्य नीति र संरचना बनाउने लक्ष्य लिएको छ । सबै विद्यालयमा प्रत्येक महिना स्वास्थ्य परीक्षण र आधारभूत उपचारको व्यवस्था गरिनेछ र स्थायीरुपमा नर्सिङ सेवा र सुविधा उपलब्ध गराइनेछ । ‘आधारभूत स्वास्थ्य र सरसफाइः सबैलाई भरपर्दो, स्तरीय र सुलभ स्वास्थ्य सेवा’ भन्ने मूल लक्ष्यका साथ नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रको नीति र कार्यक्रम सन्चालन गर्नेछ । हरेक गाउँपालिकामा प्रसूति सेवासहितको कम्तीमा एउटा १५ श्ययाको अस्पताल निर्माण गरिनेछ । सबै नगरपालिकामा आवश्यकता हेरी २५ देखि ५० श्ययाको आधुनिक अस्पताल निर्माण गरिने कांग्रेसले जनाएको छ ।
ऊर्जा र सिँचाइ कांग्रेसले ऊर्जा आगामी दुई वर्षभित्रै आन्तरिक ऊर्जा वृद्धि भइ केही महिना ऊर्जा बचत हुनसक्ने सन्दर्भमा स्वदेशी तथा विदेशी उत्पादनमूलक उद्योगको प्रवद्र्धन हुने गरी स्थानीय सरकारले ५० प्रतिशतसम्मको महसुल छुटमा ऊर्जा उपलब्ध गराउने नीति अवलम्बन गर्नेछन् । सबै सार्वजनिक स्थल (सडक, पार्क, खेलमैदान आदि)मा स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोग गरिनेछ । घरायसी इन्धनको प्रमुख स्रोतका रुपमा दाउरा, गुइँठा प्रयोग गर्ने घरधुरी संख्या प्रत्येक वर्ष निश्चित प्रतिशतले कम गर्दै लगिनेछ । सिँचाइ कृषकद्वारा व्यवस्थित गरिएका सिँचाइ प्रणालीलाई भरपर्दो, आधुनिक र दिगो बनाइनेछ । साना सिँचाइ, स्थानीय प्रविधि, थोपा सिँचाइ प्रविधि एवं आकासेपानी संकलनद्वारा सिँचाइ प्रविधिलाई प्राथमिकता दिइनेछ । प्रत्येक थोपाबाट थप उत्पादन गर्ने प्रेरणाबाट सिँचाइ सुविधा विस्तार गरिने घोषणपत्रमा उल्लेख छ ।
सूचना तथा सन्चार सूचना तथा सन्चारका सम्बन्धमा कांग्रेसले १०० वाटसम्मका एफएम सन्चालनको अनुमति दिने, नवीकरण गर्ने र नियमन गर्ने कार्यद्वारा स्थानीयस्तरमा एफएम प्रणालीको विस्तार गरिने घोषणापत्रमा उल्लेख गरेको छ । स्थानीय तहमा इन्टरनेट सेवा, टेलिसेन्टर र स्थानीय टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन कार्य स्थानीय सरकारले गर्ने कांग्रेसको योजना छ । केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा पत्रपत्रिकालगायत अन्य प्रकाशनमा कल्याणकारी विज्ञापनलाई प्रोत्साहन दिँदै एक वडा एक बुलेटिनको अभियानमार्फत् नागरिकलाई सुसूचित गरिनेछ ।
भीष्मराज ओझा 

नेपाली काँग्रेस

विशेष