राजनीति

मुसलमानले व्रत बस्ने बेलामा सरकारले निर्वाचन तोकिदियो

मुसलमानले व्रत बस्ने बेलामा सरकारले निर्वाचन तोकिदियो

अर्कना खातुन वैशाख–१३ । मधेसी मोर्चा र सरकारबीच चुनाव सार्ने सहमति भएसँगै बाँकेमा विरोध सुरु भएको छ । जेठ ३१ का लागि दोस्रो चरणको निर्वाचन प्रस्ताव गरिएपछि रमजानको महिनामा चुनाव हुन नसक्ने भन्दै मुस्लिम समुदायबाट विरोध सुरु भएको हो ।

रमजानमा चुनाव किन ? जेठ १३ वा १४ गतेबाट रमजान सुरु हुँदैछ । मुस्लिम धर्मावलम्वीहरु रमजानको महिनामा पानी पनि नखाई व्रत बस्ने गर्दछन् । यस्तो बेलामा कसरी चुनाव प्रचार अभियान सञ्चालन गर्न सकिन्छ, कार्यकर्ता कसरी प्रचारमा पुग्छन् ?

मतदाता कसरी भोट हाल्न जान सक्छन्, डुडुवा गाउँपालिकामा प्रमुखमा उम्मेदवार समेत रहेका सकिल खानले भने, जेठ ३१ मा चुनाव सार्ने निर्णय गर्नु मुस्लिम विरोधी कार्य हो । उनले भने, आफूलाई मधेसको ठेकेदार सम्झने मोर्चाले मुस्लिम समुदायलाई वेवास्ता गरेको छ । गत शनिबार साँझ मोर्चा र सरकारको सहमति बाहिरिएसँगै मुस्लिम समुदाय चिन्तित देखिएका छन् । उक्त सहमतिको तत्कालै सामाजिक सञ्जालमा आलोचना समेत गरिएको छ ।

सरकार र मोर्चाले मुस्लिमविरुद्ध षडयन्त्र गरको हो, मुस्लिमअगुवा समेत रहेका एमाले वैकल्पिक केन्द्रीय सदस्य मोहम्मद हारुनले भने, हामी यसको कडा विरोध गर्छौ । औपचारिक निर्णय भएमा यसबारे सबै दल सम्बद्ध मुस्लिम अगुवाको बैठक राखेर के गर्ने, भन्ने बारे छलफल गरी निर्णय लिने मो. हारुन बताउँछन् । उनले नेपालगन्जको चर्को गर्मीमा पानी पनि नखाइ व्रत बस्ने मुस्लिमहरु कसरी भोट हाल्न जान सक्छन् । असारमा समेत चुनावका लागि समस्या छ ।

नेपालमै खेतीपातिको ठूलो हिस्सा ओगटेको तराईमा जेठ १५ पछि किसानहरु खेतीपातिमा लाग्छन् । किसानहरु खेती गर्ने कि चुनावी अभियानमा सहभागी हुने, बैशाख ३१ मा एकै चरणमा निर्वाचन हुनुपर्ने धारणा राख्दै डुडुवा गाउँपालिकाका प्रमुख पदका उम्मेदवार सकिलले भने । देशमा रहेको समस्या समाधानका लागि समय बढाइएको हो, नेपाली काँग्रेसका सांसद अब्दुल हमिद सिद्धिकी (भोला)ले भने, तर, सहमति गर्दा मुस्लिम समुदायलाई ध्यानमा राखिएन जेठमा दोस्रो चरणको निर्वाचन तोक्ने सहमतिसँगै मलाई धेरैले फोन गरी असन्तुष्टि व्यक्त गरिसक्नु भएको छ, नेता सिद्दिकीले भने । मैले सो अनुसार केन्द्रीय नेताहरुलाई जानकारी गराइसकेको छु ।

उनले जेठ ३१ मै चुनाव हुने हो भने मुस्लिम क्षेत्रबाट उम्मेदवारी र मतदाताले भोट हाल्न समस्या हुने बताए । ‘किन एक महिना बढाउनु पर्यो ?’ सांसद सिद्दिकीले भने, ‘जेठ १५ भित्रै दोस्रो चरणको निर्वाचन तोकेको भए र राम्रो हुन्थ्यो ।’ मोर्चाका कारण समस्या उत्पन्न भएको भन्दै सांसद सिद्दिकीले निकासका लागि कुनै पनि समस्या सहन आफुहरु तयार रहेको बताए ।

निर्णय सकारात्मक हो, यसले मोर्चालाई पनि निर्वाचनमा ल्याएको छ, माओवादी केन्द्रका नेता अतहर हुसेन फारुकीले भने, तर, सहमति गर्दा मुस्लिम समुदायलाई वेवास्ता गर्ने काम चाही पक्कै भएको हो । ‘हामी प्रचारमा हिँडौला, भोट दिन जाउँला’ उनले भने, ‘तर सबै जान सक्दैनन, जेठ ३१ मै निर्वाचन हुने हो भने मुस्लिम समुदायको निर्वाचनमा सहभागिता कम हुन्छ भन्ने चाही पक्का हो ।’ उनले ५ नम्बर प्रदेशको चुनाव सार्नु पर्ने कुनै कारण नरहेको उल्लेख गर्दै नेता फारुकीले भने, मोर्चा पनि भित्रभित्रै प्रचारमा थियो अनि किन एक महिना चुनाव सारियो । उनले प्रक्रियाका लागि १०/१५ दिन भन्दा बढी चुनाव सार्न नहुने धारणा राख्दै भने । ‘प्रचारमा जुटिसकेका उम्मेदवारहरुलाई यसले निराश तुल्यायो’, नेता फारुकीले भने, ‘गाउँगाउँ पुग्ने अभियान जारी रहेको अवस्थामा धेरै दिन चुनाव सार्दा यसले सरकारात्मक सन्देश भने दिएको छैन ।’

विशेष