राजनीति

निर्वाचन आयोगको निर्णयप्रति एमालेको आपत्ति

निर्वाचन आयोगको निर्णयप्रति एमालेको आपत्ति
वैशाख - १३ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा पहिलो चरणको निर्वाचनको मतगणना तत्काल गर्ने र बजेट प्रस्तुत गर्न अनुमति दिने निर्वाचन आयोगको निर्णयप्रति अपत्ति जनाएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र आयुक्तहरुलाई भेटेर पहिलो चरणको निर्वाचनको तत्काल मतगणना गरिँदा दोस्रो चरणको निर्वाचनलाई असर तुल्याउने भएकाले निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई ध्यान दिन सुझाव दिएको थियो । कति चरणमा निर्वाचन गर्ने भन्ने सन्दर्भमा राजनीतिक दलहरुबीच भएको रस्साकस्सीबारे स्मरण गराउँदै सरकार र आयोगले एमालेसँग कुनै सोधपुछ र परामर्श नै नगरी किन लामो अन्तर राखेर दुई चरणमा निर्वाचन घोषणा भयो भनी प्रतिनिधिमण्डलले विरोध जनाएको थियो । स्थानीय तहको निर्वाचन दुई चरणमा किन गरियो भनी पार्टीको धारणा राख्न भएको एमालेको टोलीले निर्वाचनको स्वच्छता, निस्पक्षताको सुन्दरताको जर्गेना गर्ने प्रमुख दायित्व आयोगको भएको पनि स्मरण गरायो । सरकार र निर्वाचन आयोगको परामर्शमा भएको निर्वाचनलाई शिरोधार्य गरेर प्रमुख प्रतिपक्ष दल निर्वाचनको लागि मुलुकभर परिचालन भएको अवस्थामा अचानक दुई चरणमा निर्वाचन घोषणा भएकोप्रति गुनासो व्यक्त गर्दै दोस्रो चरणको निर्वाचनको लागि घोषणा भएको मितिसमेत गलत भएको जनाएको थियो । छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपनेता नेम्वाङले भने– 'निर्वाचन स्वच्छ, निष्पक्ष र पवित्र हुनुपर्छ भन्ने मान्यता ठूलो हो की मतपेटिका लामो समयसम्म कसरी राख्ने भन्ने कुरा ठूलो हो ।' दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा आचारसंहिता विपरीत जेठ १५ गते बजेट घोषणा गर्ने काम ठीक नहुने जिकिर गर्दै उनले मुलुक निर्वाचनमय भएको हुँदा अब स्थानीय तहको सङ्ख्या बढाइमा आफूहरुले कुनै हालतमा मान्य नहुने बताए ।

nirbachan aayog subash chandra nembang UML

विशेष