एनसेलभन्दा नेपाल टेलिकमको डाटा र कल सस्तो (विवरणसहित)
वैशाख –१४ । इन्टरनेटका उपभोक्ताहरु उच्च गुणस्तरको र सस्तो पनि इन्टरनेट सेवा खोजिरहेका हुन्छन् । इन्टरनेट सुविधा सबैभन्दा बढी त मोबाइल प्रयोगकर्ताहरुले नै खोजिरहेका हुन्छन् । मोवाइल सेवा प्रदायक कम्पनीहरुले पनि उपभोक्ता आकर्षित गर्न विभिन्न अफरहरु सार्वजनिक गरिरहेका हुन्छन् । सस्तो र भरपर्दिलो दावी गर्ने एनसेलले १० रुपैयाँमा २५ एमबी डाटा जुनसुकै बेला पनि दिन्छ । तीन दिन भित्र सिध्याइसक्नु यो प्याकको एक एमबीको ४० पैशा तिर्नु पर्छ ।
यता नेपाल टेलिकमको नियमित प्याकेजमा १० एमबीको ८ रुपैयाँ पर्छ । यो २ दिनभित्रमा उपयोग गरिसक्नु पर्छ । तर नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा दिएको अफर लिने हो भने १ सय रुपैयाँमा ४ सय एमबी डाटा पाउन सकिन्छ । जसमा एक एमबीका लागि २५ पैशा तिर्दा पुग्छ । यो अफर एनसेलको भन्दा प्रतिएमबी १५ पैशा सस्तो हो ।
नयाँ वर्षमा नेपाल टेलिकमले दिएको २ सय र ३ सय रुपैयाँको अफर लिने हो भने त २० पैसामै एक एमबीसम्म डाटा लिन पाइन्छ । नेपाल टेलिकमले दिएको डाटा अफर अरु कुनै पनि कम्पनीले दिन सकेका छैनन् ।
३० दिनमा उपयोग गरिसक्ने गरी नाइट डाटा प्याकमा एनसेलले ४ हजार ८ सय एमबी डाटा २५० रुपैयाँमा बेचिरहेको छ । यो अफरमा एक एमबीको पाँच पैसा मात्रै पर्छ । तर यो अफर चौकीदार, नर्स, प्रहरी आदिलाई मात्रै सुविधाजनक छ । किनकी राति ११ बजेपछि मात्रै यसको उपयोग गर्नु पर्छ । त्यो पनि बिहान ५ बजेभित्रैमा । पाँचै पैशामा एक एमबी भनेर सस्तो प्रचारका लागि मात्रै एनसेलले यस्तो अफर ल्याएको जस्तो देखिन्छ ।
रातकै लागि भनेर नेपाल टेलिकमले पनि नयाँ वर्ष अफर ल्याएको छ । यो अफरमा ३ सय रुपैयाँ तिर्ने हो भने उपभोक्ताले ६ हजार ६ सय ५६ एमबी डाटा पाउँछन् । यसलाई ३० दिनभित्र खर्च गरिसक्नु पर्छ । एनसेलले ल्याएको पाँच पैसावाला अफरमाथि नेपाल टेलिकमको यो अफर हावी भएको देखिन्छ । किनभने नेपाल टेलिकमको यो अफरमा एक एमबी डाटालाई ४ पैशा मात्रै पर्छ । यसमा अर्को सुविधा पनि छ । यो अफर निल्नु न ओकल्नु जस्तो छैन । राति १० बजेदेखि बिहान ६ बजेसम्म उपयोग गर्न पाइन्छ ।
नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा ल्याएको अफरले एनसेलका अधिकांश प्याकेजलाई महंगो बनाइदिएको छ । नयाँ वर्षको अफरलाई टेलिकमले निरन्तरता दिने सम्भावना पनि छ । यसो भयो भने नेपाल टेलिकम सर्वाधिक सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्ने छ ।
मोबाइलबाट मोबाइलमा कल गर्दा पनि सस्तो दरको प्याकेज नेपाल टेलिकमले अहिले ल्याएको छ । नयाँ वर्षको अवसरमा राति १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्दा १० पैशामा एक मिनेट कुरा गर्न पाइन्छ । सात दिनभित्र उपयोग गरिसक्नु पर्ने यो प्याकेज किन्न २५ रुपैयाँ खर्च गर्नुपर्छ । २५ रुपैयाँमा २५० मिनेट कल गर्न पाइन्छ ।
यति सस्तो अफर नेपाल टेलिकमबाहेकले ल्याएको छैन । एनसेलले १० बजेदेखि बिहान ६ बजेसम्म ८ रुपैयाँमा ६० मिनेट कुरा गर्न पाइने अफर लागू गरिरहेको छ । तर यो अफर २४ घण्टामा सिध्याउनु पर्छ । यसको सिधा अर्थ यो अफर एकपटकमै सिध्याउनु पर्छ । सात दिनसम्म यो अफरमा कुरा गर्ने हो भने झन्डै दिनहुँ आठ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।