राजनीति

पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति - प्रधानमन्त्री

पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति - प्रधानमन्त्री
वैशाख - १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई पठाइएको पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति भएको जानकारी दिए । नवगठित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलसंगको भेटमा सो कुरा बताउँदै उनले सरकारले तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्ने कार्य भने फिर्ता नलिएको स्पष्ट पारे । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल आज प्रम प्रचण्डलाई भेट गर्न बालुवाटारमा पुगेका थिए । सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का बीचमा व्यवस्थापिका–संसद् सञ्चालन गर्न सरकारले हाललाई तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्ने कार्य स्थगित गर्ने सहमति बुधबार भएपछि सदनको बैठक बुधबार नै सञ्चालन भएको थियो । सरकार र प्रमुख प्रतिपक्षी दलबीचको सहमतिकका विषयमा सो पार्टीका अध्यक्षमण्डलले प्रम प्रचण्डसित प्रम निवास बालुवाटारमा जिज्ञासा राखेको भेटपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिँदै आफूहरुको जनसङ्ख्याका आधारमा तराई मधेसको जिल्लाका गाउँपालिका तथा नगरपालिका पुनरावलोकन गर्नुपर्ने माग यथावत् नै रहेको सञ्चारकर्मीलाई जानकारी दिए । उनले प्रम प्रचण्डले भेटमा आफूहरुलाई सरकार र प्रमुख प्रतिपक्षी दलका बीचमा सदन सञ्चालन गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई गरेको पत्रमात्र फिर्ता लिन सहमति भएको जानकारी दिएकाे बताए। उक्त दलले प्रम प्रचण्डलाई आफ्नो पार्टीको चुनाव चिह्न छातालाई मान्यता दिन निर्वाचन आयोगसित समन्वय गरिदिनसमेत आग्रह गरेको अध्यक्ष मण्डलका सदस्य महतोले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने – 'हामीले विभिन्न छवटा पार्टी एकीकृत भई निर्माण भएको राष्ट्रिय जनता पार्टी नेपालका बारेमा पनि प्रमलाई जानकारी गरायौँँ ।'
संविधान संशोधन प्रस्ताव सकारात्मक: राजपा राष्ट्रिय जनता पार्टी नेपालले सरकारद्वारा सदनमा प्रस्तुत संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको भन्दै यसलाई पारित गराउन सहयोग गर्ने जनाएको छ । व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव प्रस्तुत गरेको थियो उनले भने – 'प्रस्ताव सकारात्मक छ, हामी पारित गराउन सहयोग गर्छौं ।' प्रस्ताव पारित गराउने विषयमा प्रम प्रचण्डले भोलि ३ बजे सदनमा प्रतिनिधित्व गर्ने दलहरुसित छलफलसमेत गर्न लागेका छन् । प्रम प्रचण्डलाई भेट गर्न सो दलका अध्यक्ष मण्डलहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झालगायतको सहभागिता थियो ।

PM Puspakamal Dahal

विशेष