रञ्जु दर्शनाको चर्चा यति भयो कि अब त मिडियालाइ नै वास्ता गर्न छाडिन्
वैशाख –१६ । विवेकशील नेपालीले काठमाडौंको मेयरमा २१ वर्षकी रञ्जु दर्शनालाई अगाडि सार्यो । कलिलो अनुहारकी उज्याली रञ्जु प्रति मिडियाको पनि ध्यान तानिएको छ अहिले । मिडियाको ध्यान रञ्जु प्रति तानिएपछि विवेकशील नेपालीले भने रञ्जुलाई एक खाले मिडियाबाट अलग राख्ने नीति लिएको छ ।
सामाजिक सञ्जाल र अनलाईनमै आफ्नो अस्तित्व खोजिरहेको विवेकशील नेपालीले रञ्जुलाई अनलाइनहरुमा अन्तर्वार्ता दिनबाट रोक लगाएको छ । रञ्जुका मिडिया संयोजक मिलन पाण्डेले भने, ‘अहिले अनलाईनहरुलाई अन्तर्वार्ता दिने नीति छैन । पछि हुनसक्छ सम्पर्क गर्नुहोला ।’
विवेकशीलले रञ्जुलाई उम्मेदवार बनाएपछि उनको अन्तर्वार्ता प्रमुख टेलिभिजन च्यानलहरुले लिइसकेका छन् । बाँकी टेलिभिजनहरुले पनि अन्तर्वार्ताका लागि समय लिएको मिडिया संयोजक पाण्डेले बताए । रञ्जुको अन्तर्वार्तामा अनलाइन न्यूज पोर्टललाई विवेकशिलले अघोषित प्रतिबन्ध नै लगाएको बुझिएको छ ।
नजिकिँदो निर्वाचनको बेला उम्मेदवारहरु सकेसम्म ‘एक्सपोजर’ खोजिरहेका हुन्छन् । तर रञ्जु दर्शनाको हकमा विपरीत छ । मिडियाको ध्यान धेरै तानिएकोले त्यसमा केही ब्रेक लगाइएको अनुमान पनि गरिन्छ ।
काठमाडौंको मुख्य समास्या बच्चा बच्चालाई थाहा छ । उदाहरणका लागि धुवा धुलो, सडकको दूरावस्था, फोहोर, खानेपानी र महंगी । काठमाडौंमा भएका यस्ता समस्या पत्ता लगाउन विवेकशील नेपालीले सर्भेक्षण नै गरेको थियो । यो कुरा मेयरकी उम्मेदवार रञ्जुले हरेक अन्तर्वार्तामा सगौरव दोहोर्याउने गर्छिन् । ‘सबैलाई थाहा भएको समस्या पनि सर्भेक्षण गरेर पत्ता लगाउने यो कस्तो पार्टी ?’भनेर पनि मानिसहरुले टिप्पणी गर्ने गरेका छन् ।
आमाको नामबाट नागरिकता नदिइएको झोंकमा विवेकशील नेपाली पार्टीमार्फत राजनीतिमा आएकी रञ्जुको वास्तविक उमेरमा शंका गर्नेहरु पनि छन् । उनलाई केही मानिसहरुले २५ वर्षकी हुन् भनेर प्रचार पनि गर्छन् । यद्यपि यो शंकाको पछाडि कुनै आधार भने फेला परेको छैन । रञ्जु न्यौपाने उर्फ रञ्जु दर्शनाको चर्चा यतिबेला चुलिएको छ । उनले चुनाव नजिते पनि केही मत काट्ने आँकलन धेरैले गरेका छन् ।