७ वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादनः ऊर्जामन्त्री शर्मा
वैशाख - १६ । ऊर्जामन्त्री जनार्दन शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारको प्रत्यक्ष निगरानीमा आठ हजार र निजी क्षेत्रको सहभागितामा नौ हजार मेगावाट विद्युत् उत्पादन थप गरी अबको सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने दाबी गरेका हुन् ।
उज्यालो अभियान प्रचारका लागि नभएर वास्तविकताका लागि भएको भन्दै कार्यक्रममा सहभागी उद्योगी व्यवसायीलाई हौसला दिँदै मन्त्री शर्माले उद्योगी व्यवसायीले अब ऊर्जामा लगानी गर्नुपर्ने बेला आएको बताए । उनले ऊर्जामा गरेको लगानी कहिल्यै खेर नजानेसमेत बताए ।
मन्त्री शर्माले एक वर्षभित्र देश पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त हुनेसमेत दाबी गरे । विद्युत्भार कटौती अन्त्यका लागि जलविद्युत्का क्षेत्रमा थुप्रै काम भइरहेको बताउँदै उनले पहिलो चरणमा अहिले देशका मुख्य सहरहरुमा विद्युत्भार कटौती अन्त्य गर्ने काम भइरहेको बताए।
एक वर्षभित्र उज्यालो नेपाल बनाउन आफूले दिनरात नभनी काम गरिरहेको बताउँदै मन्त्री शर्माले अबको केही समयमै निर्माणाधीन अवस्थामा रहेका ठूला आयोजनाहरु पूरा भएपछि देशका अधिकांश सहरमा विद्युत्भार कटौती अन्त्य हुने बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले रुपन्देहीमा रहेको विद्युत् समस्या चाँडै नै समाधान हुने बताउँदै भैरहवा, बुटवललाई छिट्टै विद्युत्भार कटौतीमुक्त बनाउने तयारी थालेको बताए ।
उनले देशलार्ई विद्युत्भार कटौतीमुक्त बनाउने अभियान अन्तर्गत काठमाडौँ पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त भएको र अब विस्तारै बाहिर पनि सकेसम्म विद्युत्भार कटौती न्यून गर्ने योजनाअनुसार प्राधिकरणले काम गरिरहेको बताए । कार्यक्रममा सङ्घका अध्यक्ष रामकुमार शर्माले विद्युत्को अनियमितताको कारण यस क्षेत्रका उद्योग व्यवसाय मारमा परेको बताए ।
सो अवसरमा विद्युत्को अनियमितताले साना, ठूलो उद्योगदेखि भैरहवा विशेष आर्थिक क्षेत्र र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलजस्ता राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा पनि ठूलो समस्या पारेको व्यवसायीले मन्त्रीसमक्ष गुनासो गरेका थिए ।
Janardan Sharma