राजनीति

सबै दल समेटेर निर्वाचनमा जाने काँग्रेसको निर्णय

सबै दल समेटेर निर्वाचनमा जाने काँग्रेसको निर्णय
वैशाख १७ । नेपाली काँग्रेसले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको कार्यालयमा आज(आइतबार) बिहान भएको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा तराई/मधेस केन्द्रित राजनीतिक दललाई चुनावमा जाने वातावरण बनाउने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबैको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित गराई चुनावी वातावरण बनाउन व्यवस्थापिका–संसद्को ठूलो दल भएका नाताले काँग्रेसले विशेष भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा छलफल भएको सांसद रामकृष्ण यादवले बताए । यही वैशाख ३१ गते निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ का ८० प्रतिशत गाउँपालिका एवम् नगरपालिकाका उम्मेदवारको टुंगो पार्टीले लगाइसकेको छ । टुंगो लागिसकेकाहरुलाई ‘टिकट’ पठाइसकिएको मुख्यसचिव पौडेलले बताए । बाँकी स्थानीय तहमा पार्टीबाट चुनाव लड्ने उम्मेदवारको अन्तिम नामावली सोमबार बिहानसम्म तयार पार्ने निर्णय पनि आज(आइतबार) भएको छ । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत पूर्वपदाधिकारीको पनि उपस्थिति थियो ।

Nepali Congress

विशेष