राजनीति

काठमाडौं उपत्याकामा चुनावी सन्देश दिँदै साझा यातायात 

काठमाडौं उपत्याकामा चुनावी सन्देश दिँदै साझा यातायात 

वैशाख - २८ । स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको चुनावको सन्देश बोकेका साझा बस काठमाडौं उपत्याकामाका सडकमा गुड्न थालेका छन् । कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले साझा बसमा निर्वाचन आयोगको लोगो अंकित झन्डा फहराएर बिहीबार साझा यातायातमार्फत चुनावको सन्देश प्रचारप्रसार शुभारम्भ गरे । 

साझा बसका २३ वटा गाडीमा यस्ता स्टिकर टाँसिएको निर्वाचन आयोगले जनाएको छ । गाडीमा टाँसिएका स्टिकरले मतदातालाई आफ्नो अमूल्य मतको महत्व झल्काउनुका साथै मतदानका लागि प्रेरित गर्ने विश्वास गरिएको छ । पछिल्लो समय यात्रुमा साझा बस लोकप्रिय बन्दै गएको छ । कार्यक्रमपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख आयुक्त डा यादवले पहिलो चरणको चनावमा खटिएका कर्मचारी बिहीबारबाट सबै मतदान केन्द्रमा पुगिसकेको जानकारी दिए ।

प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका दुईसय ८३ स्थानीय तहका ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान अधिकृतको टोलीले बिहीबारदेखि शनिबारसम्म मतदाताको परिचयपत्र वितरण गर्ने उनले जानकारी दिए । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता कायम भएको हुँदा निर्वाचन अधिकतले स्थानीयस्तरमा राजनीतिक दलसँग समन्वय गरी मतदानस्थल र मतदान केन्द्रको निर्माणको कार्य पनि सुरु गरिसकेको उनले भने ।

विशेष