राजनीति

निर्वाचनका लागि धमाधम घर फर्कदैं, उपत्यकाबाट एक लाख मानिस बाहिरिने अनुमान

निर्वाचनका लागि धमाधम घर फर्कदैं, उपत्यकाबाट एक लाख मानिस बाहिरिने अनुमान

वैशाख २९ । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ ।

२१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको मात्र फरक हुने गरेकोमा २१ वैशाखदेखि भने यसमा फरक आएको छ ।

चुनावमा करिब एक लाख बाहिरिने अनुमान

ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा करिब एक लाख मानिस बाहिरिने अनुमान गरेको छ । २१ वैशाखमा २२६२, २२ गते १९६४, २३ गते १२९७, २४ गते १३४०, २५ गते २४२५, २६ गते ३१९६, २७ गते ५२०० र २८ वैशाखमा पाँच हजारभन्दा बढीको हाराहारीमा उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका डिआइजी लामाले बताए । शुक्रबार र शनिबार राजधानीबाट बाहिरिनेको संख्या बढ्ने महाशाखाले जनाएको छ । दुई दिनमा ५० हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने अनुमान रहेको लामाले बताए ।

आठ दिनमा तीन हजारभन्दा बढी सवारीसाधन बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाका विभिन्न नाका हुँदै सवारीसाधन बाहिरिएका छन् । ट्राफिक प्रहरीका अनुसार २१ देखि २८ वैशाखसम्म क्रमशः ३६३, ४९८, ८७, २३७, ७०८, ३१७, ४५५ र पाँच सयभन्दा बढी सवारीसाधन बाहिरिएका छन् । भित्रिनेभन्दा बाहिरिने सवारीसाधनको संख्या बढी छ ।

सबैभन्दा बढी नागढुंगा, त्यसपछि भक्तपुर–साँगा र फर्पिङ नाकाबाट सवारीसाधन बाहिरिएका छन् ।

नयाँ पत्रिका

Nirbachan 2074

विशेष