अपराध सुरक्षा राजनीति

मतदान केन्द्रको सुरक्षा खलबलिए १० मिनेटमै थप सुरक्षाकर्मी, यस्तो छ सुरक्षा व्यवस्था

मतदान केन्द्रको सुरक्षा खलबलिए १० मिनेटमै थप सुरक्षाकर्मी, यस्तो छ सुरक्षा व्यवस्था

वैशाख २९ । मतदान केन्द्रको सुरक्षा खलबलिए पाँचदेखि १० मिनेटभित्र त्यहाँ थप सुरक्षाकर्मी पुग्ने भएका छन् ।

केन्द्रीय सुरक्षा समितिको निर्वाचन सुरक्षा योजनाअनुसार मतदान केन्द्रमा आवश्यक परे तत्काल थप सुरक्षाकर्मी पुग्नेछन् । गृह मन्त्रालयका प्रवक्ता तथा मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका प्रमुख बालकृष्ण पन्थीले जस्तोसुकै अवस्था आए पनि हतियार नचलाई व्यवस्थापन गर्न सकिने गरी सुरक्षा योजना बनाइएको बताए ।

सामान्य अवस्थामा जति सुरक्षाकर्मी परिचालन गरिनेछन् त्यति नै पर्याप्त हुनेछ । त्यसबाहेक कुनै असामान्य अवस्था आइपरे तत्कालै त्यहाँ थप सुरक्षाकर्मी परिचालन गरिनेछु, पन्थीले भने । मतदान केन्द्रआसपास छरिएका स्ट्राइकिङ फोर्स, मोबाइल टोली र नेपाली सेनाबाट तत्काल आवश्यक थप सुरक्षाकर्मी परिचालन गरिनेछ । सरकारले सेनालाई अन्तिम अवस्थामा मात्र मतदान केन्द्रमा पस्ने गरी सुरक्षा योजना बनाएको छ ।

मतदानस्थलको प्रत्यक्ष सुरक्षामा सेना सहभागी हुनेछैनु, पन्थीले भने, तर आसपास छरिएर रहनेछ । मतदान केन्द्र सुरक्षाको बाहिरी घेरामा सेना रहने भएकाले अत्यावश्यक परिस्थितिमा मात्र भित्र पस्नेछ ।

पहिलो चरणमा पहाडी र हिमाली क्षेत्रमा स्थानीय निर्वाचन हुन लागेकाले त्यहाँको भौगोलिक विषमता ध्यानमा राखेर सुरक्षा व्यवस्थापनको योजना बनाएको गृहको दाबी छ। सुरक्षा योजनाअनुसार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा बाँडिएको छ । सामान्य मतदान केन्द्रको सबैभन्दा भित्री सुरक्षा घेरामा कम्तीमा तीनजना प्रहरी र चारजना म्यादी प्रहरी रहनेछन् ।

दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी रहनेछन्। यसमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि हुनेछन् । त्यसबाहिर पनि प्रहरी र सशस्त्रका विभिन्न टोली रहनेछन् । मतदानस्थलको केही पर सेना बस्नेछ । संवेदनशील मतदान केन्द्रको सबैभन्दा भित्री सुरक्षा घेरामा कम्तीमा चारजना प्रहरी र ६ जना म्यादी प्रहरी बस्नेछन् । यसैगरी अति संवेदनशील मतदान केन्द्रको सबैभन्दा भित्री सुरक्षा घेरामा कम्तीमा पाँचजना प्रहरी र ६ जना म्यादी प्रहरी हुनेछन् ।

हामीले न्यूनतम मापदण्ड तोकिदिएका छौं। कति परिचालन गर्ने सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछु, पन्थीले भने । थप जनशक्ति परिचालन गर्नेदेखि हतियार चलाउने निर्णय गर्ने सबै अधिकार जिल्ला सुरक्षा समितिसँग हुनेछ । पहिलो चरणको स्थानीय निर्वाचनका लागि निर्वाचन हुने क्षेत्रमा प्रहरी, म्यादी प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी ६४ हजार नौ सय ११ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दोस्रो चरणको स्थानीय निर्वाचन ध्यानमा राखी देशभर ६४ हजार सेना परिचालन गरिएको छ। प्रवक्ता पन्थीले मतदान सकिएपछि मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउन पनि सुदृढ सुरक्षा योजना रहेको बताए । मतगणनास्थलसम्म मतपेटिका पुर्‍याउने सवारीसाधनमा प्रहरी रहनेछन्। सवारीसाधनको दायाँबायाँ प्रहरी र सशस्त्र रहेको गाडीले सुरक्षा दिनेछन् । मतपेटिका बोकेको सवारीसाधनको केही पछि रहेर सेनाको गाडीले सुरक्षा दिनेछ । १० हजारभन्दा बढी मतदान केन्द्रबाट भएको मतको गणना सात सय ४४ स्थानमा हुने हुँदा सुरक्षा व्यवस्थापनमा निकै सहज हुनेछु, पन्थीले भने ।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले सुुरक्षाव्यवस्था कडा पारिएको बताए । सम्बन्धित मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्, उनले भने। सर्वसाधारणसँग भएका लाइसेन्ससहितका हतियार निर्वाचन सुरक्षाका लागि बुझाउन गृह मन्त्रालयले निर्देशन दिए पनि न्यून संख्यामा मात्र बुझाइएको छ । लाइसेन्स लिएर करिब ३५ हजार हतियार सर्वसाधारणले राखे पनि करिब एक हजार मात्र प्रशासनलाई बुझाइएको हो ।

अन्नपूर्ण 

स्थानीय तह निर्वाचन

विशेष