राजनीति

कर्मचारीहरुलाई अनुचित दबाब र प्रभावबाट जोगिन ओलीको आग्रह

कर्मचारीहरुलाई अनुचित दबाब र प्रभावबाट जोगिन ओलीको आग्रह

काठमाडौंः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार हुने स्थानीय तहकोको निर्वाचनमा सरकार र सत्ताधारी दलहरुबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै संविधान र कानुनले निर्धारण गरेको कर्तव्य निष्पक्षतापूर्वक सम्पन्न गर्न राष्ट्रसेवकहरू, सुरक्षा अङ्गहरु र राज्यका सबै निकायहरुसँग आग्रह गरेका छन् ।

आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । पछिल्लो समयमा सरकारका मन्त्रीहरु नै निर्वाचन आचारसंहित गर्ने कार्यका उद्वत देखिएको भन्दै कर्मचारीलाई यस्ता खालका गतिविधिबाट टाढै रहन आग्रह गरेका हुन ।

निर्वाचनलाई निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा सम्पन्न गराउनु र प्रत्येक मतदाताको मताधिकार र मतको सुरक्षाको प्रत्याभूति गर्नु निर्वाचन आयोग र सरकारको दायित्व भएको उनको भनाइ थियो । उनले भने,‘सरकारले आफ्नो दायित्व पुरा गर्नु पर्ने समयमा विभिन्न खालका गतिविधिमा सहभागी हुनु दुर्भाग्य पूर्ण हो ।’

'यस सम्बन्धमा एमालेले सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गर्दै आएको छ', उनले भने, 'निर्वाचनका सर्वमान्य सिद्धान्त र आचारसंहिता विपरीत सरकार र सत्ताधारी दलहरुका तर्फबाट निर्वाचनलाई प्रभावित गर्न राज्यकोषबाट जथाभावी रकमान्तर गर्ने, पदीय हैसियत र सरकारी साधनस्रोतको दुरुपयोग गर्ने कामहरु रोकिएका छैनन् ।'

ओलीले पछिल्ला दिनहरुमा एमालेका नेता कार्यकर्तालाई लक्षित गरेर स्याङ्जा, नवलपुर, भोजपुर, गोरखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप लगायत ठाउँमा हिंसा र आक्रमणका घटनाहरु तीव्र पारिएको पनि जिकिर गरे । ओलीले भने ‘दोलखामा हाम्रो पार्टीका कार्यकर्ता कुलबहादुर तामाङको नृशंस हत्या गरिएको छ ।’

'बारम्बारको ध्यानाकर्षणका बाबजुद यी कामहरु नरोकिनुले हाम्रो पार्टीलाई गम्भीर र चिन्तित तुल्याएको छ', उनले भनेका छन्,‘यस्ता कामहरु तत्काल रोक्न प्रभावकारी कदमका लागि निर्वाचन आयोग र सरकारको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं ।’

जनताको घर–आँगनसम्म अधिकार पुग्न नदिने अनेकौं प्रयाशलाई विफल पार्दै सुनिश्चित गरिएको यस व्यवस्थाअनुरुप हामी स्थानीय तहको निर्वाचनमा सहभागी हुन जुटेको बताए । निर्वाचनले संविधानको कार्यान्वयन र नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई आधारभूत तहसम्म पुर्‍याउने महत्वपूर्ण कडीको भूमिका खेल्ने उनको भनाइ छ ।

स्थानीय तहहरुमा महिला, दलितलगायत पछाडि परेका/पारिएका समुदायको प्रतिनिधित्व व्यापक रुपमा बृद्धि हुनेछ । त्यसैले आफ्नो सबैभन्दा नजिकको सरकार आफै छान्ने यस निर्वाचनमा उत्साहपूर्ण ढङ्गले सहभागी हुन र आफूले रुचाएका उम्मेदवारहरुको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

ओलीले लोकतन्त्रमा आफ्ना मान्यताहरुको वैधता परीक्षण गर्ने र तिनमा जनताको अनुमोदन प्राप्त गर्ने उपयुक्त विधि निर्वाचन नै भएको बताए । उनले निरन्तरताबाट राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक न्यायको प्रत्याभूति गर्दै 'सुखी नेपालीः समृद्ध नेपाल'को घोषित लक्षमा पुग्न सकिन्छ भनेका छन् ।

केपी शर्मा ओली स्थानीय तहको निर्वाचन

विशेष