मौन अवधिमा ‘भोट माग्दै हिँडेको’ भनेर गगन थापालाई लखटे जनताले
९३ वर्षका हजुरबुबा भेट्न जाँदा एमाले कार्यकर्ताले दुर्व्यवहार गरे – मन्त्री थापा
वैशाख–३० । निर्वाचन आचारसँहिताविपरीत घरघर पसेर मत मागेको भन्दै काठमाडौंको कपनमा स्वास्थ्यमन्त्री गगन थापाविरुद्ध प्रदर्शन भएको छ । जनआक्रोश बढेपछि मन्त्री थापा कपनबाट भागेका छन् ।
शनिबार बिहान मन्त्री थापा घरघर मत माग्दै हिँडेको स्थानीयले दाबी गरेका छन् । तर मन्त्री थापाले भने जनताको घर जान आफूलाई आचारसंहिताले नरोक्ने बताएका छन् ।
मन्त्री थापा झण्डावाल गाडी चढेर बुढानीलकण्ठ नगरपालिकाको कपन जोरधारामा विहान करिब साढे ८ बजे कांग्रेसका स्थानीय कार्यकर्तासहित पैसा पनि बाँडिरहेको दाबी स्थानीयले गरेका छन् ।
मौन अवधिमा मत माग्न नपाईने आचारसँहिताको व्यबस्था विपरित मन्त्री थापा भेटिएपछि स्थानीय जनताले घेर्दा उनी गाडी चढेर भागेका थिए । भाग्नेक्रममा उनको गाडीले सुकेधारामा बा ७५ त ३१४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाईकल अहिले प्रहरीको नियन्त्रणमा छ र घाइतेलाई ओम अस्पताल लगिएको बताइएको छ ।
तर मन्त्री थापाले भने अाफ्रना ९३ बर्षका हजुरबुबा भेटेर अाउन लाग्दा एमाले कार्यकर्ताले दू्व्यवहार गरेकाे बताए । उनले भने, ‘९३ वर्षको हजुरबुवा भेटेर पार्टीकै साथीको घरमा छिर्न लाग्दा गर्दा बाहिरबाट भीड आयो। पैसा बाँड्ने भन्दै मलाई दुर्व्यवहार गर्न थाले’, थापाले भने, ‘उनीहरुले पैसा बाँड्न आएको भन्दै मलाई गाली गरे। मैले बुढानिलकण्ठका भोटर पैसामा किनिने हुन भनेर अपमान गर्न खोजेको भन्दै प्रतिवाद गरेँ। त्यसपछि उहाँहरुले नियन्त्रण नै गुमाउने खतरा देखियो अनि म त्यहाँबाट बाहिरिए। ’