एमालेले भने झै कांग्रेस हाफ र माओवादीको पत्तासाफ नहुने भयो
जेठ–१ । नेकपा एमालेका कार्यकर्ताले निर्वाचनपछि कांग्रेस हाफ र माओवादीको पत्तासाफ हुने अपक्षा र नारा चर्काएका थिए । निर्वाचन मत परिणाम सार्वजनिक भइरहँदा माओवादीको अवस्था कमजोर भए पनि पत्तासाफ भने नहुने भएको छ ।
फाटफुट माओवादी केन्द्रका उम्मेदवारहरु विजयी हुन थालेका छन् । केही स्थानमा उनीहरु अगाडि पनि छन् । रुकुमको बाफिकोट गाउँपालिकाको एक नम्बर वडामा माओवादी केन्द्रका हर्कु मल्लाको प्यानलै विजयी भएको छ ।
काठमाडौको चन्द्रगिरी नगरपालिकामा पनि नेकमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेस र एमालेका उम्मेदवारले उनीहरुलाई पछ्याइरहेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा ठूलो अन्तरले माओवादीले अग्रता लिएको छ । रुकुमको सानी भेरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले ४ सय मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले १ सय मत मात्रै प्राप्त गरेका छन् ।
प्रदेश नम्बर ६ अन्तर्गत जाजरकोटको शिवालय गाउँपालिकामा माओवादी केन्द्रकै मानबहादुर पुन प्यानलसहित विजयी भएका छन् ।