राजनीति

भरतपुर महानगरमा मतगणना १० ठाउँबाट गरिने

भरतपुर महानगरमा मतगणना १० ठाउँबाट गरिने

चितवनः भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएपछि आज रातिबाट मतपत्र मिलाउने र गन्ने काम १० ठाउँमा गरिने भएको छ । हालसम्म गन्ने र मिलाउने काम तीन ठाउँमा गरिंदै आएको थियो । एक ठाउँमा मिलाउने र दुई ठाउँमा गनिँदै आएकोमा गणनामा ढिलाई भएपछि जनशक्ति थप गरी धेरै ठाउँमा गणनाको काम गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार छ ठाउँमा मिलाउने र चार ठाउँमा गन्ने काम गरिँदैछ । गणनाको अन्तिम चरणमा पुगेको वडा नं १ को गणना सकिएसँगै दश ठाउँमा गणनाको काम गर्न लागिएको हो ।

गणना धेरै ठाउँमा गर्दा मुख्य निर्वाचन अधिकृतले मात्रै अनुगमन गर्न नभ्याउने हुँदा प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत, स्थानीय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारीले सहयोग गर्ने सहमति भएको छ । मतपत्र मिलाउने ठाउँमा हरेक दलका दुई दुई जना र गणना गर्ने ठाउँमा उम्मेदवारसहित दुई दुई जना प्रतिनिधि रहने व्यवस्था गरिएको प्रजिअ भट्टले बताए ।

यसैबीच भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै छ । उनले १ हजार ३७३ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ९८७ र राप्रपाका बद्री तिमिल्सिनाले ९० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती शाहले एक हजार १८७ मत पाएकी छिन् भने एमालेकी दिव्य शर्मा आचार्यले एक हजार १०८ मत प्राप्त ग्ररेका छन् । राप्रपाकी रिना गुरुङले १०८ मत पाएकी छिन् ।

भरतपुर महानगरपालिकाको वडा नं १ बाट गणना थालिएकोमा आज दिउँसोबाट वडा नं २ को समेत मतगणना सुरु गरिएको छ । हालसम्म प्राप्त नतिजा वडा नं १ को हो । सो वडामा वडा अध्यक्ष र सदस्यमा नेकपा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् । भरतपुर महानगरपालिकामा एक लाख १२ हजार सातसय मत खसेको छ ।

विशेष