राजनीति

स्थानीय तहको संख्या थपघट अस्वीकार्यः एमाले

स्थानीय तहको संख्या थपघट अस्वीकार्यः एमाले

काठमाडौंः सरकारले स्थानीय तहको सङ्ख्या पुनरवलोकनको तयारी गरेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले सङ्ख्या थपघट नगरी दोस्रो चरणको निर्वाचन गर्न पुनः माग गरेको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी ललितपुरमा आज बसेको स्थायी कमिटीको बैठकले स्थानीय तहको सीमाङ्कन र नामाङ्कनसम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरी पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको वर्तमान अवस्थामा यही आधारमा अविलम्ब दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

सरकारले दोस्रो चरणको निर्वाचन गर्न तराई–मधेसका दलको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न स्थानीय तहको सङ्ख्या पुनरवलोकनका लागि उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा कार्यदल गठन गरेको छ । सो तयारीप्रति आपत्ति जनाउँदै एमाले केही दिन सदन अवरोध समेत गरेको थियो ।

गत वैशाख ३१ मा भएको पहिलो चरणको निर्वाचनपछि बिहीबार बस्ने व्यवस्थापिका–संसद्को बैठकमा एमालेले यो विषय पुनः उठाउने भएको बताइन्छ । पहिलो चरणमा ३, ४ र ६ नं प्रदेशको निर्वाचन भएको छ भने बाँकी चार प्रदेशका जिल्लामा यही जेठ ३१ का लागि निर्वाचनको मिति तोकिएको छ ।

एमाले बैठकको निर्णयमा भनिएको छ, “निर्वाचनका सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगिसकेका अवस्थामा भ्रम र अन्योल उत्पन्न गर्ने गरी स्थानीय तहको सीमाङ्कन र सङ्ख्यालाई हेरफेर गर्ने कुरा स्वीकार्य नहुने पुनः स्पष्ट गर्दछौँ ।”

 

निर्वाचनअघि संविधान संशोधन अस्वीकार्य

एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा पेस गरिएको महाअभियोग र संविधान संशोधन प्रस्ताव औचित्यहीन भएकाले तत्काल फिर्ता लिई संविधान कार्यान्वयन र तोकिएको समयमा तीनै तहको निर्वाचन सम्पन्न गर्ने काममा राजनीतिक समझदारी निर्माण गर्न सरकारसमक्ष माग गरेको छ ।

‘वान बेल्ट वान रोड’ समझदारीप्रति खुसी

एमालेले मित्रराष्ट्र चीनको नेतृत्वमा सुरु गरिएको ‘वान बेल्ट वान रोड’ परियोजनामा नेपालको सहभागिताका लागि अघिल्लो सरकारका पालामा थालनी गरिएको प्रयासको निरन्तरता स्वरुप दुई राष्ट्रबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएकाप्रति खुसी व्यक्त गरेको छ ।

यस परियोजनाले नेपालको आर्थिक विकासमा थप सहयोग पुग्नेछ र नेपाललाई अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न सहयोग मिल्नेछ भन्ने विश्वास एमालेको छ ।

स्वास्थ्यलाभको कामना

बैठकले अस्वस्थ भई उपचारका क्रममा रहनुभएका केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशव बडाल र पार्टी पोलिटब्युरो सदस्य अग्नि खरेलको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

केपी शर्मा ओली

विशेष