राजनीति

गोलाप्रथाबाट छानिए वडा अध्यक्ष

गोलाप्रथाबाट छानिए वडा अध्यक्ष

जेठ ३ । स्थानीय तह निर्वाचनमा प्रदेश ६ का डोल्पा, जुम्ला र सल्यानका मतगणनामा रोचक घटना भएका छन् ।

सल्यानको ढोरचौर गाउँपालिका–४ को वडाअध्यक्ष गोलाप्रथाबाट छानिएको छ । डोल्पाको मुडेचुला र जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रले झिनो मत अन्तरले चुनाव जितेको छ ।

सल्यानको ढोरचौर गाउँपालिका –४ का कांग्रेस र एमालेका वडाअध्यक्ष उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नतिजा टुंग्याइएको हो । कांग्रेसका दिनेश बीएम र एमालेका देवेन्द्र रोका दुबैले ३ सय २१ मत प्राप्त गरेका थिए । वडा अध्यक्ष चयनका लागि गरिएको गोलाप्रथामा कांग्रेसका दिनेश बीएमले बाजी मारे ।

डोल्पाको मुडेचुला गाउँपालिकामा माओवादी केन्द्रका दत्तबहादुर शाही निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायभन्दा २ मत बढी अर्थात् ९ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भए ।

जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रका रजबहादुर शाहीले एमाले प्रत्याशी भैरबहादुर रोकायभन्दा तीन मत बढी ल्याएर अध्यक्ष जिते ।

कान्तिपुर

विशेष