राजनीति

गोरखामा एमाले र नयाँ शक्ति बढारियो

गोरखामा  एमाले र नयाँ शक्ति बढारियो


जेठ ५ । गोरखाका दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली कांग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ । नेकपा एमाले र नयाँ शक्ति पार्टीले कुनै स्थानीय तहमा जित्न सकेनन् ।

गोरखा नगरपालिकामा कांग्रेस

गोरखा नगरपालिकामा ६ हजार ५६० मत ल्याएर कांग्रेसका राजनराज पन्त नगरपालिका प्रमुखमा विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णबहादुर रानाले पाँच हजार ६० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकी बिनाकुमारी श्रेष्ठले ६ हजार २६० मत ल्याइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सम्झना देवकोटाले चार हजार ७०५ मत प्राप्त गरिन् ।

गोरखा नगरपालिकामा १४ वटा वडा रहेका छन् जसमध्ये १, २, ४, ५, ६, ८, ९ र १२ वडा कांग्रेसले जितेको छ । यस्तै, ३, १० र १४ नं वडामा नेकपा एमाले ले जितेको छ भने नेकपा माओवादी केन्द्रले ७, ११ र १३ वडामा जित हासिल गरेको छ ।

पालुङटारमा कांग्रेस

गोरखाको पालुङटार नगरपालिकाको प्रमुख पदमा कांग्रेसका दीपकबाबु कँडेल विजयी भएका छन् । चार हजार ६९८ मत ल्याएर कँडेल विजयी भए भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विवश चिन्तनले चार हजार ४९१ मत प्राप्त गरे ।

उपप्रमुखमा माओवादी केन्द्रकी पम्फा बसेल निर्वा्चित भइन् । बसेलले चार हजार ४९४ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चेतकुमारी श्रेष्ठ चार हजार १९६ मत प्राप्त गरिन् । दशवटा वडा रहेको पालुङटारमा नयाँ शक्ति पार्टीले १, ४ र ५ वडामा विजय हासिल गरेको हो ।

यस्तै, २, ६, ८ र १० नं वडामा माओवादी केन्द्र विजयी भयो भने वडा नं ७ मा एमाले विजयी भएको छ । कांग्रेसले वडा नं ३ र ९ जितेको छ । पालुङटार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वसङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको गृहनगर पनि हो ।

भीमसेनमा कांग्रेस

गोरखाको भीमसेन गाउँपालिका प्रमुख पदमा कांग्रेसका ईश्वर पाण्डे तीन हजार ९४३ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकी बिनु वाग्ले तीन हजार ९८३ मतका साथ विजयी भइन् । कांग्रेसले माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा र लीला श्रेष्ठलाई पराजित गरेको हो ।

आरुघाटमा कांग्रेस

आरुघाट गाउँपालिकाको प्रमुखमा कांग्रेसका पूर्णबहादुर दाहालले तीन हजार ६७६ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै कल्पना नेपाली तीन हजार ६०९ मत ल्याएर विजयी भइन् भने कांग्रेसले प्रमुख र उपप्रमुखमा क्रमशः एमालेका बकबहादुर लामा र मिनु बरामलाई हराएको हो ।

चुमनुब्रीमा कांग्रेस

उत्तरी हिमाली क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकाको प्रमुख पदमा कांग्रेसका धनबहादुर गुरुङ एक हजार २५३ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रकी धनकुमारी गुरुङ एक हजार २८५ मतले विजयी भइन् । कांग्रेसले माओवादीका लाक्पा डुण्डुप लामा र माओवादीले कांग्रेसकी छेवाङ लामालाई उपप्रमुखमा पछि पारेको हो ।

धार्चेमा कांग्रेस

धार्चे गाउँपालिकामा कांग्रेसका सन्तबहादुर गुरुङ एक हजार ७ सय ९ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकी फूलमाया गुरुङ एक हजार ५९५ मतका साथ विजयी भइन् । कांग्रेसले नयाँ शक्तिका लक्ष्मण गुरुङ र माओवादी केन्द्रकी आशा तमुलाई हराएको हो ।

अजिरकोटमा कांग्रेस

अजिरकोट गाउँपालिकामा कांग्रेसका फणिन्द्र धिताल तीन हजार ३३ मतका साथ विजयी भएका छन् । उपप्रमुखका कांग्रेसकै चन्द्रमाया गुरुङ तीन हजार ३३ मतले विजयी भइन् । माओवादी केन्द्रका दीपक देवकोटा र अनिता भुजेललाई कांग्रेसले प्रमुख र उपप्रमुखमा हराएको हो ।

सिरानचोकमा कांग्रेस

सिरानचोक गाउँपालिकामा कांग्रेसका राजु गुरुङले तीन हजार ४ सय २ मत ल्याएर विजयी हासिल गरेका छन् । यस्तै, उपप्रमुखमा कांग्रेसकै रीता देवकोटाले तीन हजार ४११ मत ल्याइन् । माओवादी केन्द्रका नवराज पुडासैनी र दीपा गुरुङलाई कांग्रेसले हराएको हो ।

गण्डकीमा कांग्रेस

गण्डकी गाउँपालिकामा कांग्रेसका होमबहादुर राना चार हजार १६४ मतका साथ विजयी भएका छन् । कांग्रेसकी ललिता अधिकारी चार हजार ९७ मतले उपप्रमुखमा विजय भइन्। प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका दीपक तिमिल्सिना र पूर्णा थापालाई कांग्रेसले हराएको हो ।

सहिद लखनमा माओवादी

सहिद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेश थापाले तीन हजार ८ सय ८ मत ल्याएर प्रमुख पदमा विजयी भएको छ । उपप्रमुख पदमा माओवादीकै इन्दिरा तिवारी तीन हजार ७९८ मतका साथ विजयी भइन् । कांग्रेसका कृष्ण आले र शर्मिला श्रेष्ठलाई माओवादीले हराएको हो ।

सुलिकोटमा माओवादी

गोरखाको सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका विष्णु भट्ट चार हजार ६५९ मतका साथ प्रमुख पदमा विजयी भएका छन् । उपप्रमुख पदमा माओवादी केन्द्रकै सनमाया गुरुङ चार हजार ५०१ मतले विजयी भइन्। कांग्रेसका इन्द्र गुरुङ र जनककुमारी कोइरालालाई माओवादीले हराएको हो ।
मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि एघारवटै स्थानीय तहमा दलले विजय र्याली निकालेका छन् ।

गोरखा

विशेष