‘ठूलो वीरता प्रदर्शनपछि पहिलो चरणको निर्वाचन सम्पन्न’ - प्रधानमन्त्री
भरतपुर: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धेरै अप्ठ्यारासँग सामना गरेर ठूलो वीरता प्रदर्शनपछि मात्रै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै उनले धेरै ठूलो मिहिनेतपछि र लामो समयको अन्तरालपछि नयाँ सन्दर्भमा स्थानीय तहको पहिलो चरणकोे निर्वाचन सम्पन्न भएको बताए। दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने दायित्व पनि त्यति नै गम्भीर भएको बताउँदै उनले भने “अझ भन्ने हो भने पहिलोभन्दा अझ बढी गम्भीर जिम्मेवारी दोस्रो चरणमा छ ।”
दोस्रो चरणको निर्वाचन सम्पन्न गरिसकेपछि परिवर्तन संस्थागत मात्रै नभएर जनताको सहभागितामा कल्पना गरेभन्दा राम्रो विकास हुने उनले बताए । निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दा आफ्नो जिम्मेवारी पूरा भएको महसुस भएको छ भन्दै उनले आफूलाई कसले जित्छ, कसले हार्छ भन्ने आफूलाई नलागेको बताए । उनले भने “नेपाली कांग्रेसले जिते पनि मैले जितेको जस्तो हुने, एमालेले जिते पनि मैले नै जितेको जस्तो ठानेको छु, माओवादीले जित्दा त ठान्ने नै भएँ ।”
लामो समयदेखि कृषि र त्रिभुवन विश्वविद्यालयबीच भौतिक सम्पत्तिमाथिको विवाद अन्त्य गर्न आफू सफल भएको पनि प्रधानमन्त्री दाहालले बताए ।
सोही अवसरमा कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले विश्वविद्यालय कृषि विकास मन्त्रालयअन्तर्गत रहनुपर्ने बताउँदै विश्वविद्यालयले अध्ययन, अनुसन्धान र प्रसारमा लागेमा कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने जिकिर गरे ।
कार्यक्रममा सांसद शेषनाथ अधिकारी र कृष्णभक्त पोखरेलले चितवनवासीको ठूलो सङ्घर्षबाट स्थापित विश्वविद्यालयलाई संस्थागत रुपमा विकास गरेर लैजान सरकारी तवरबाट सहयोगको खाँचो औँल्याए ।
विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा कैलाशनाथ प्याकु-यालले विश्वविद्यालयमा प्रयोगात्मक पढाइ नभएमा गुणस्तरीय शिक्षा दिन नसकिने बताए । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजन गौतमले जिल्लामा विश्वविद्यालय स्थापना गर्न सङ्घको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा हालसम्मको उपलब्धिका बारेमा विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले जानकारी गराएका थिए ।
विसं २०७० माघ २३ गते ३० महिनामा सम्पन्न गर्ने गरी अनक लुम्बिनी बङ्गलामुखी ज्वाइन्ट भेन्चरलाई सम्झौता गरी रु ३५ करोड ३४ लाख ८८ हजारमा निर्माणका लागि जिम्मा दिइएको थियो । विश्वविद्यालयका रजिस्ट्रार प्रा डा मनराज कोलाक्षपतिका अनुसार भूकम्प र नाकाबन्दीका कारण समयमा काम सम्पन्न गर्न नसकेपछि आउँदो असारसम्म सम्पन्न गर्ने गरी नौ महिना समय अवधि थप गरिएको थियो । विश्वविद्यालयमा एक हजार ८८३ विद्यार्थी अध्यनरत छन् ।
दोस्रो चरणको निर्वाचन झन् उत्साहपूर्ण
नवलपरासी–प्रधानमन्त्रीले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि अझ बढी उत्सवपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
नवलपरासीको रजहरस्थित शाश्वतधाममा शुक्रबार पूजाआजापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले मधेस केन्द्रित राजनीतिक दललगायत सबै दलको सहभागितामा दोस्रो चरणको निर्वाचन हुने बताए । पहिलो चरणको निर्वाचनलाई सरकारले निकै सफलताका रुपमा लिएको बताउँदै उनले दोस्रो चरणको निर्वाचन यही जेठ ३१ गते नै सम्पन्न हुने जानकारी दिए ।
प्रधानमन्त्री दाहालले आजै दुम्कौलीस्थित शाश्वत धाम पूजाआजा गरे। उक्त धाम चौधरी ग्रुपले निर्माण गरेको हो । पूजाआजापछि प्रधानमन्त्री दाहालले निजी क्षेत्रबाट भव्य धाम निर्माण गरिएकामा आफू प्रभावित भएको बताए ।
स्थानीय तह निर्वाचन पुष्पकमल दाहाल प्रचण्ड