तालमेलले ‘हावा’ खायो
जेठ ५ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पहिलो र दोस्रो चरणको निर्वाचनको मिति महिना दिनको फरकमा राख्नाले नकारात्मक असर पारेको बताएका छन् ।
बिहीबार झापाको बिर्तामोडमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने–‘पहिलो चरणको चुनावमा गरिएका राजनीतिक दलका तालमेलले ‘हावा’ खाएको तथा पहिलो र दोस्रो चरणको निर्वाचनको मितिबीचको दूरी लामो हुनुले नकरात्मक असर परेको छ ।’
नेता खनालले ‘अहिलेको राजनीतिक तालमेलले कुनै प्रभाव नदेखिएकाले दोस्रो चरणको निर्वाचनका लागि कोसँग कसरी तालमेल गर्ने पार्टीले गम्भीर भएर सोच्नुपर्नेबेला आएको छ’–भने ।
स्थानीय तहको निर्वाचनले देशमा वैधानिक गति लिएको बताउँदै उनले भने–‘अब प्रदेश र संघीय संसदको निर्वाचन पनि समयमा नै हुनुपर्छ ।’