राजनीति

चाँगुनारायणमा रोकियो मतगणना

चाँगुनारायणमा रोकियो मतगणना

भक्तपुर: भक्तपुरको चाँगुनारायण नगरपालिकामा अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगित गर्ने गरी मतगणनास्थलमा शिलबन्दी गरिएको छ ।

शनिबार चाँगुनारायण नगरपालिका–४ को मतगणना सम्पन्न गरेर बिहान ७ बजे मतपरिणाम सार्वजनिक गर्ने तयारी गर्दा मतगणना पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि दिनभर मतपरिणाम सार्वजनिक हुन सकेन ।

नेपाली कांग्रेस, नेमकिपा र राप्रपाले मतगणनामा सहभागी कर्मचारी एमालेनिकट रहेको र कांग्रेस तथा नेमकिपाको मत पनि एमालेमा गाभेर मतगणना गरेको भन्दै मतपरिणाम सार्वजनिक गर्न एवं मतगणना गर्न नदिएको मतगणनास्थलमा रहेका राप्रपाका प्रतिनिधि राजीव लामिछानेले बताए ।

तीनओटै दलको मतगणनास्थलमा रहेका कर्मचारी परिवर्तन गर्नुपर्ने र पुनः मतगणना गर्नुपर्ने माग राखेर अवरोध गरेको उनले बताए ।

यता, एमालेले भने चाँगुनारायण नगरपालिका–१ र २ मा मतगणना भइ कांग्रेस विजयी हुँदा कुनै विवाद ननिकालेको तर वडा नम्बर–३ र ४ मा एमालेका उम्मेदवार विजयी भएपछि आत्तिएर विरोधमा उत्रिएको बताएको छ ।

दिउँसो कांग्रेस, राप्रपा र नेमकिपाले नाराबाजी गरेपछि मतगणना भइरहेको कोठामा शिलबन्दी गरिएको प्रहरीले जानकारी दिएको छ ।

विवादले मतगणनामा रोकिएपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्लाका प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मालगायत सर्वपक्षीय छलफल भइरहे पनि समस्याको समाधान हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले मतगणनामा विवाद निस्किएर मतगणना रोकिए पनि सर्वपक्षीय बैठक बसेर समाधान निकाल्ने प्रयत्न भइरहेको जानकारी दिए । छलफलबाट निकास ननिस्किए निर्वाचन आयोगले गर्ने निर्णयअनुसार अगाडि बढ्ने उनले बताए ।

विशेष