राजनीति

महाअभियोग फिर्ता लिँदै सत्ता घटक, यस्तो छ खास कारण

महाअभियोग फिर्ता लिँदै सत्ता घटक, यस्तो छ खास कारण

जेठ ७ । आईजीपी प्रकरण हुँदै प्रधानन्यायाधीशमाथि महाअभियोगको उत्कर्षमा पुगेको सरकार–न्यायपालिकाबीचको क्षेत्राधिकार विवाद अन्ततः किनारा लगाउने मनस्थितिमा सत्ता घटक पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यसको खुलासा गरेका हुन् । ‘महाअभियोग प्रस्तावबारे समझदारीबाट जानुपर्छ भन्नेमा सरकार छ । न्यायालयले पनि यो विषयलाई समझदारीबाटै टुंग्याउनुपर्छ भनी सोचेको छ भन्ने विश्वास छ,’ दाहालले शनिबार बिहान भने, ‘यस्तो स्थितिमा हामीले यस प्रस्तावलाई फिर्ता लिने मानसिकता बनाइराखेका छौं ।’

दाहालको यो खुलासाले तीन साता लामो अदालत–संसद् द्वन्द्वको बैठान हुने देखिएको छ ।यसअघि कार्यपालिकाको कार्यकारी क्षेत्राधिकार मिच्न खोजेको भन्दै प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले अब यो विवाद बढ्न नदिने भएका हुन् ।

वैशाख १७ मा दुई सत्ता घटकका २ सय ४९ सांसदका हस्ताक्षरसहित संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भए पनि पाँच दिनपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै पर्याप्त आधार र कारणबिना महाअभियोग आएको भन्दै कार्कीलाई जिम्मेवारीमा फर्काएको थियो ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा महाअभियोग प्रस्ताव फिर्ता लिने मनस्थितिमा पुगे पनि त्यसको मूल जरो अर्थात् आईजीपी प्रकरणबाट भने हात झिकिहाल्ने मुडमा देखिएनन् ।

दाहालले चार एआईजीमध्येबाट कसलाई प्रहरी प्रमुख बनाउने भन्ने निर्णयाधिकार ऐन र परम्परा दुवैका आधारमा प्रधानमन्त्रीकै भएको दोहोर्‍याउँदै त्यसमा अरूले हस्तक्षेप गर्नु उचित नभएको बताए ।

‘जे नहुनुपथ्र्यो, त्यो भयो । प्रधानन्यायाधीशसँग मेरो नराम्रो भएको छैन । उहाँलाई मैले नराम्रो मानेको छैन,’ उनले थपे, ‘मैले उहाँलाई न्यायाधीशमा अघि बढाउन भूमिका खेल्ने मौका पनि पाएको थिएँ । त्यसैले व्यक्तिगत नराम्रो केही छैन ।

तर सामान्य आईजी प्रकरण यहाँसम्म पुग्नु राम्रो भएन । नचाहँदारनचाहँदै त्यहाँसम्म धकेलिने अवस्था भयो । न्यायालय, व्यवस्थापिका दुवैले एकचोटि फेरि समीक्षा गर्नुपर्ने विषय छ ।’

अदालतले प्रमाणका रूपमा अघि सारेका आईजीपी प्रकरणसम्बन्धी दस्तावेजहरू आधिकारिक नभएको भन्दै सरकारी पक्षले आशंका गर्दै आएको छ । दाहालले ‘एउटा असाध्यै गोप्य डकुमेन्टमा फर्जी भएको’ दाबी गर्दै त्यसतर्फ सरकारले अनुसन्धान अघि बढाउने संकेत गरे ।

त्यो फर्जी काम कसले गर्‍यो भन्ने प्रश्नमा दाहालले स्पष्ट जवाफ केही नदिए पनि आईजीपी दौडमा रहेका डीआईजी नवराज सिलवालको प्रमाणपत्र फर्जी भेटिएको सरकार स्वयंले यसअघि दाबी गर्दै फरेन्सिक ल्याब परीक्षणका लागि पठाएको जनाएको थियो ।

कान्तिपुर

Mahaaviyog

विशेष