राजनीति

प्रधानमन्त्री प्रचण्डले भोलिसम्म राजीनामा दिने

प्रधानमन्त्री प्रचण्डले भोलिसम्म राजीनामा दिने


जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड ’ले दुई बुधबार सम्मा राजीनामा दिने भएका छन् । नेपाली कांग्रेससँग सरकार गठनका बेला भएको भद्र सहमतिलाई पालना गर्दै प्रधानमन्त्री दाहालले बुधबारभित्र राजीनामा दिने स्पष्ट पारेका हुन् ।

‘सत्तारूढ कांग्रेससँग जे भद्र सहमति भएको थियो, त्यहीअनुसार अब हामी १० गतेभित्र छाड्छौं,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकमा भने । प्रधानमन्त्री दाहालले १० गतेभित्र सरकारबाट राजीनामा दिने बताए पनि नीति तथा कार्यक्रम र बजेट भने यही सरकारले ल्याउने बताएका थिए । ‘सरकारबाट राजीनामा दिएपछि सहमति र बहुमतको प्रक्रिया अघि बढ्छ,’ प्रधानमन्त्रीले भने, ‘प्रक्रियाको अवधिका बीचमा नीति तथा कार्यक्रम र बजेट यहीँ सरकारले काम चलाउका रूपमा ल्याउनेछ ।’

प्रधानमन्त्री दाहालले यसअघि नै दोस्रो चरणको निर्वाचनको सुनिश्चितासहित आफूले पूर्वसहमतिअनुसार राजीनामा दिने घोषणा गरेका थिए । उनीनिकट स्रोतका अनुसार प्रधानमन्त्रीले १० गते राजीनामा दिने तयारी गरेका छन, १० गते नभए ११ गते प्रधानमन्त्रीको राजीनामा आउने स्रोत बताउँछ । पार्टी केन्द्रीय कार्यालय सदस्य मणि थापाले बैठकमा समसामयिक विषय तथा निर्वाचनलगायतका विषयमा छलफल भएको जानकारी दिँदै पार्टी अध्यक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिने विषयलाई मान्यता दिएको बताए ।

‘उहाँले अब सत्ता साझेदार दलसँग छलफल गरेर राजीनामा दिनुहुनेछ, बैठकले उहाँको राजीनामा दिने विषयलाई मान्यता दिएको छ।’ बैठकमा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको बताएका थिए ।

विशेष