सम्बोधन गर्नै पाएनन् दाहालले
जेठ १० । प्रमुख दलबीच सहमति र विश्वास जुट्न नसक्दा संसदलाई सम्बोधन गरी राजीनामा घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास अवरुद्ध भएको छ ।
चुनावी प्रक्रिया सुरु भएपछि स्थानीय तहको संख्या थप्ने सरकारी निर्णयविरुद्ध प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि मंगलबार संसद बैठक बस्न सकेन ।
दलहरुबीच सहमति प्रयास चलिरहँदा सभामुख ओनसरी घर्तीले मंगलबार बिहान ११ बजेका लागि संसद डाकेको संसद बैठक ३ बजे, ५ बजे र ७ बजेका लागि सारेकी थिइन् ।
प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी अपरान्हको बैठकमा पनि राजनीतिक गतिरोधको गाँठो नफुकेपछि सभामुख घर्तीले सूचना प्रकाशित गरी बुधबार बिहानसम्मका लागि संसद स्थगित गरेकी हुन् ।
कान्तिपुर