सत्ताबाहिर त एमाले बस्नै नसक्ने रैछ, सहमतीय सरकारको नाममा सत्तामा जाने प्रयासमा एमाले
जेठ–१३ । दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै नयाँ सरकार गठनको तयारीमा लागेका हुन् ।
प्रमुख प्रतिपक्षी एमालेले भने सहमतीय सरकारका लागि आफूहरू खुला रहेको बताएको छ। एमाले अध्यक्ष केपी ओलीले आफूहरू नयाँ सरकारको नेतृत्वको दौडमा नरहेको भन्दै संक्रमणकाल टुंगो लगाउन, संविधानको कार्यान्वयन गर्न र मेलमिलापको राजनीति अगाडि बढाउन पनि सहमतीय सरकार आवश्यक रहेको बताएका छन् ।
‘हामी अहिले नयाँ सरकार गठनको दौडधुपमा छैनौँ । सहमतिको सरकार होस, सहमतिका साथ अगाडि जाऔँ, मेलमिलापका साथ मिलेर जाऔँ, संक्रमणकाल टुंग्याउने दिशामा जाऔँ, संविधानसम्मत ढंगले अगाडि बढौँ भन्नेमा छौँ,’ शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा ओलीले सञ्चारकर्मीसँग भने, ‘राष्ट्रपतिले सहमतिको सरकार गठनकै लागि समय दिनुभएको हो। एमाले सहमतिको सरकारका लागि खुला छ।’
एमालेले खोजेको सहमतीय सरकार कस्तो ?
कांग्रेस र माओवादी केन्द्र प्रमुख दलका नेताहरूमध्ये जसको नाममा सहमति जुट्छ, उसैलाई राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहमत हुनुपर्ने एमालेको सर्त छ ।
‘हामी त संविधान जारी हुनु पहिल्यैदेखि संविधान कार्यान्वयनको प्रारम्भ भएर एक चरणको निर्वाचन सम्पन्न नभएसम्म प्रमुख तीन दलसहितको सहमतिकै सरकारका पक्षमा थियौँ, तर कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख पार्टीहरू एक ठाउँमा बस्न नहुने, एउटा प्रमुख पार्टी प्रतिपक्षमा बस्नैपर्ने सिद्धान्त ल्याउँदा १६ बुँदे सहमति भाँडिएको हो,’ एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘त्यसैले हिजो भाग लगाइएको छ भन्ने आधारमा होइन, आजको आवश्यकताका आधारमा छलफलमा व्यक्तिका नाम आउँदा आग्रह–पूर्वाग्रहबाट मुक्त भएर प्रमुख पार्टीमध्ये धेरैले जसको नाममा सहमति जनाउँछन, उही व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार बनाउन सबै तयार हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
–नयाँ पत्रिकाबाट