साझाले दियो मतदातालाई धन्यवाद, भन्यो महानगरमा सहकार्य गर्न तयार छौं

जेठ १४ । साझा पार्टीले काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा आफ्ना उम्मेदवारले पाएको मतप्रति सन्तोष व्यक्त गरेको छ ।
आइतबार विज्ञप्ति जारी गरी साझा पार्टीले आफ्नो उपप्रमुखको उम्मेदवार निरुपमा यादव तेस्रो र प्रमुखका उम्मेदवार किशोर थापाले चौथो स्थानमा आउनुले मतदाताले भरपर्दो विकल्पको रुपमा लिएको तथ्य प्रस्ट भएको बताएको छ । ’पार्टी निर्माणको प्रक्रिया सुरु गरेको ६ हप्तामै र कही कतै सङ्गठन निर्माण नै नभई उमेदवारी दिँदा पनि कडा प्रतिश्पर्धामाझ दुवै उमेदवार क्रमश तेस्रो र चौथो स्थानमा आउनु भनेको मतदाताहरूले साझा पार्टीलाई भरपर्दो विकल्पका रूपमा लिएको तथ्यको स्पष्ट सङ्केत हो’ साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
साझा पार्टीले काठमाडौं महानगरपालिका प्रमुखमा निर्वा्चित एमालेका विद्यासुन्दर शाक्य र उपप्रमुखमा निर्वाचित नेपाली कांग्रेसकी हरिप्रभा खड्गीलाई बधाइ दिँदै उनीहरुको अभियानमा सहयोग गर्न तयार रहेको जनाएको छ ।
६ दशकदेखि जरा गाडेको पार्टीसँग ६ हप्तामै प्रतिस्पर्धामा उत्रिनु सजिलो नभएको भन्दै सा पार्टीले भविष्यमा आफूहरुलाई मतदाताले विश्वास गर्नेमा आशा व्यक्त गरेको छ। ’सक्षमतालाई प्रवर्धन गर्दै इमानदारीपूर्वक प्रयास गर्ने हो भने सुसंस्कृत राजनीतिको जग हाल्न सकिन्छ भन्ने पनि हामीलाई विश्वास थियो’ साझा पार्टीले भनेको छ ’त्यो विश्वासलाई मतदाताहरूले पुष्टी गरिदिएका छन् र मतदाताको विश्वासले भविष्यमा मुर्त रूप लिनेमा हामी ढुक्क छौ ।’
काठमाडौं महानगरपालिकाको आइतबार विहान घोषणा गरिएको अन्तिम मत परिणाममा साझा पार्टीका उम्मेदवार किशोर थापाले १८ हजार ४ सय १६ मत ल्याए भने उपप्रमुखकी उम्मेदवार निरुपमा यादवले ११ हजार ५ सय ३३ मत ल्याएकी छन् ।
Sajha Party