राजनीति

स्थानीय तहको निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्याे – प्रम

स्थानीय तहको निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्याे – प्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा अभूतपूर्ण जनसहभागितासहित सम्पन्न भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज(सोमबार) सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गत वैशाख ३१ गते सम्पन्न निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कोसेढुंगाका रुपमा रहेको बताए ।

नेपाली जनताको दशकौँ लामो संघर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको उल्लेख गर्दै उनले गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन सरकारले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आइरहेको तथ्य विदितै रहेको स्मरण गरे ।

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता, घाइते, अपांगता भएका योद्धामा उच्च सम्मान व्यक्त गरेका छन् । साथै, उनले जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेसी, आदिवासी जनजाति र विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति आभार प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने सन्दर्भमा राज्य पुनःसंरचनाको महत्वपूर्ण आयाम स्थानीय तहको पुनःसंरचना रहेको स्पष्ट पार्दै जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनु खुसीको कुरा भएको बताए ।

स्थानीय तहको ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदातामा हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्रीले निर्वा्चित जनप्रतिनिधिमा नेपाल सरकार र आफ्नो तर्फबाट बधाई दिँदै सफल कार्यकालका लागि शुभकामनासमेत दिए ।

संविधान कार्यान्वयन गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचनका अतिरिक्त संविधानबमोजिम विभिन्न कानुनहरुको निर्माण गर्ने तथा भइरहेका कानुनहरुमा समयसापेक्ष सुधार गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिँदै उनले ४० भन्दा बढी कानुनहरु तर्जुमा गरिसकेको छ भने ४५ वटा विधेयक व्यवस्थापिका–संसद्मा विचाराधीन रहेको बताए ।

प्रधानमन्त्रीले भने, “स्थानीय तह, प्रदेश तथा संघीय व्यवस्थापिकाको निर्वाचनपश्चात् संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारशीला निर्माण भई संविधानले प्रत्याभूत गरेका उपलब्धिहरु संस्थागत हुने मेरो विश्वास छ ।”

स्थानीय तहको प्रथम चरणको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रदेश तथा संघीय–संसद्को निर्वाचन गर्नका लागि आवश्यक पर्ने कानुनी पूर्वाधारहरु तय भइसकेको स्पष्ट पार्दै प्रधानमन्त्रीले बाँकी केही कानुनको विधेयक तर्जुमा गरी व्यवस्थापिका–संसद्मा पेस गर्न सरकार लागिरहेको जानकारी दिए ।

संविधानबमोजिम उच्च अदालतको स्थापना भई न्याय प्रशासन, संघीय न्याय सेवा आयोग तथा न्याय परिषद्सम्बन्धी कानुन लागू भइसकेको संविधानले व्यवस्था गरेका नयाँ संवैधानिक आयोगहरु गठन गर्न आवश्यक विधेयकहरु तयार गरी व्यवस्थापिका–संसद्मा पेस गरिएको बताए ।

संविधानबमोजिम निर्माण गर्नुपर्ने कानुनको प्राथमिकीकरण गरी कार्ययोजना बनाई काम अघि बढाएको हुँदा व्यवस्थापिका–संसद्मा विधेयक पेस गर्ने कार्यलाई नयाँ बन्ने सरकारले अझ प्रभावकारी रुपमा गति दिने विश्वाससमेत प्रधानमन्त्रीले व्यक्त गरे ।

प्रधानमन्त्रीले कानुनी, प्रशासनिक पूर्वाधारको उपयोग गर्दै गणतन्त्रलाई संस्थागत गरी आमजनताको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउनु हाम्रो आधारभूत कार्यभार रहेको स्पष्ट पारे ।

राजनीतिक अधिकार प्राप्तिपछि दिगो विकासको लक्ष्य हासिल गर्न सबै वर्ग, क्षेत्र, लिंग र जातजातिको समावेशी विकास प्रमुख लक्ष्य हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सुशासन, आधुनिक बस्ती विकास, नैतिक, भौतिक र प्राविधिक शिक्षामा जोड, जनउत्तरदायी नेतृत्व र शासन प्रणाली हाम्रो प्राथमिकतामा रहेको बताए ।

प्रधानमन्त्रीले भने, “पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि देशमा राजनीतिक स्थिरताको ढोकामात्रै खुलेको छैन, आर्थिक समृद्धि र जनताको जीवनमा सकारात्मक परिवर्तनको यात्रासमेत प्रारम्भ गर्नेछ । अब हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि तल्लो तहमा जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्नेछन्, यसले नेपालको राजनीतिक स्थिरता र विकासको क्षेत्रमा छलाङ मार्नेछ भन्ने मेरो गहिरो विश्वास रहेको छ ।”

प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि आजको दिनसम्म आइपुग्दा स्थानीय तहको व्यवस्थासहित पहिलो चरणको निर्वाचन सम्पन्न भएको, राजनीतिक दलहरुबीचको तिक्ततापूर्ण सम्बन्ध राजनीतिक सहमति र सहकार्यमा बदलिएको भूकम्पपछिको पूनःनिर्माणको क्षेत्रमा पीडितलाई प्रदान गरिएको अनुदानमा वृद्धि गरिएको, निजी आवास निर्माणको कामले पनि गति लिएको स्पष्ट पारे ।

मुलुकको राष्ट्रिय अर्थतन्त्र प्रगतिको दिशामा रहेको, ७.५ प्रतिशत आर्थिक वृद्धि भएको, मूल्य वृद्धि नियन्त्रण भएको, विकास आयोजनाहरुमा प्रगति हासिल भएको, विद्युत्भार कटौतीको अन्त्य गरिएको र उज्यालो युगको प्रारम्भ, सन्तुलित विदेश नीति र छिमेकीहरुसँगको सम्बन्धमा आएको न्यानोपन, विदेशमा बस्ने नेपालीको हितका निम्ति गरिएको राजनीतिक, कूटनीतिक र व्यवस्थापकीय सुधारजस्ता उपलब्धिहरुले देशमा आशाको नयाँ सन्देश प्रवाह गरेको जानकारी गराए ।

गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै राष्ट्रको समृद्धि र जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु हाम्रो राष्ट्रिय कार्यभार रहेको र गणतन्त्र दिवसले सबैलाई राष्ट्रिय सहमतिका आधारमा उल्लिखित कार्यभार पूरा गर्न थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए ।

Pushpa Kamal Dahal

विशेष