राजनीति

राजपालाई मनाउन चुनाव सार्ने तयारी

राजपालाई मनाउन चुनाव सार्ने तयारी


जेठ १५ । दोस्रो चरणको स्थानीय चुनावलगत्तै संविधान संशोधन गर्नेगरी सहमति जुटाउन आयोजित ठूला तीन दल र राजपा बैठक टुंगो नजिक पुगेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा आइतबार रातिसम्म बसेको सत्ता घटक कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी एमाले र राजपा नेताहरुबीचको बैठकमा राजपालाई ल्याउने शर्तमा एक साता चुनाव मिति सार्ने प्रस्ताव गरिएको छ ।

राजपा चुनावमा आउने सर्तमा प्रमुख प्रतिपक्ष एमालेपनि सरकारको प्रस्तावमा लचक देखिएको छ । लिखित सहमति नभए पनि चुनावलगत्तै संविधान संशोधनमा एमाले पनि लचक देखिएपछि दोस्रो चरणको चुनावमा राजपा सहभागिता, त्यसलगत्तै गर्ने भनिएको संविधान संशोधन दुवैका लागि आवश्यक कानुनी र प्राविधिक तयारीका लागि सोमबार र मंगलबार सरकारले गृहकार्य गर्ने समझदारी भएको छ ।

‘राजपालाई चुनावमा समेटेर लैजानेमा एमाले पहिलेभन्दा सकारात्मक देखियो, अब राजपालाई निर्वाचन आयोगमा दल दर्ताका लागि कानुनअनुसार हस्ताक्षर बुझाउन समय लाग्ने प्राविधिक समस्या देखिएकाले त्यसलाई सम्बोधन गर्नका लागि चुनावको मिति केही समय सार्ने समझदारी भयो,’ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भने, ‘आयोग र मौसमविदसँग सल्लाहमा सरकारले नयाँ तिथि तोक्नेछ ।’

निधिले असारको १० गते नकाट्नेगरी नयाँ चुनाव मिति तोक्ने सरकारी तयारी रहेको जानकारी दिए। माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले राजपा चुनावमा आउने सुनिश्चित हुनेगरी चुनाव मिति सार्न लागिएको बताए । 

कान्तिपुर 

विशेष