मतपत्र च्यातेको देख्ने माओवादी इन्चार्जको बयान ‘आवेगमा आएपछि च्यातेको हो’
–सुमन सापकाेटा
राति मतगणना भइरहेको थियो । त्यो वडामा २८ सय मत खसेको थियो । १८ सय मत गणना गर्दा ६५ मतले रेणु अगाडि थिइन् । कुलमा ६–७ सयले देवीको अग्रता थियो ।
त्यो क्रममा गणनामा तलमाथि पर्न थाल्यो । रेजा लगाउँदा कहिले थपिने कहिले छुट्न थाल्यो । हाम्रो गणना र अरुको गणनामा फरक देखियो । भनाभन सुरु भयो । हामीले मतगणनामा फरक देखियो । मतगणना पुनः हुनु पर्छ भन्यौं । तर एमालेका कार्यकर्ताले मानेनन् ।
त्यसपछि आवेगमा आउँदा मत पत्र च्यातिएको हो । कति मतपत्र च्यातियो म यसै भन्न सक्दिनँ । धेरै मतपत्र चाही कच्याककुचुक बनाएर डल्लो पारिएको पनि छ ।
एमालेले हाम्रो कार्यकर्ताले च्यातेको भनेर आरोप लगाएको छ । हाम्राले मत पत्र च्यातेको हो भने प्रहरीले उनीहरुको कार्यकर्तालाई किन पक्राउ गर्नु ? अहिले हाम्रा दुई र एमालेका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
(भरतपुर महानगरपालिकाका माओवादी इन्चार्ज सुमन सापकोटासँग गरिएको कुराकानीमा आधारित)