मतपत्र च्यातेको घटना बुझ्न केपी ओली आफै भरतपुर जाने
जेठ–१६ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा आइतबार राति मतपत्र च्यातिएपछिको स्थिति बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार चितवन जाने भएका छन् ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार त्यहाँको वस्तुस्थिति बुझ्न अध्यक्ष ओलीसहितको टोली चितवन जान लागेको हो । नेम्वाङकाअनुसार ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग पनि यस घटनाबारे कुरा गर्नुहुनेछ ।
सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले मेयरमा आफ्नो उम्मेदवार हार्ने भएपछि मतपत्र च्यातेर पुनः मतदान गर्ने षड्यन्त्र रचेको भन्दै एमाले पुनः मतदान गर्न नहुने र तत्काल मत गणना सुचारु गर्न दबाब दिँदै आएको छ भने उता सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडा नंं १९ मा पुनः मतदान गर्नुपर्ने तर्क अघि सार्दै आएको छ ।
दुबै पक्षले मत पत्र च्यातिएका विषयमा एकअर्कामाथि आरोपप्रत्यारोप लगाउँदै आएका छन् । यस विषयमा निर्वाचन आयोग छानविन थालिरहेको छ ।