राजनीति

मतदान स्थलमै प्रवेश गर्ने सिके राउतको यस्तो छ चुनावी रणनीति, राज्य के गर्दै छ ? (अडियोसहित)

मतदान स्थलमै प्रवेश गर्ने सिके राउतको यस्तो छ चुनावी रणनीति, राज्य के गर्दै छ ? (अडियोसहित)

जेठ १७ । तराई मधेशसहितका जिल्लामा हुन लागेको दोस्रो चरणको निर्वाचनलाई केन्द्रीत गरी पृथकतावादी सिके राउत नेतृत्वको समुहले चुनावी रणनीति बनाएको छ । सो समुहका प्रमुख राउतले तराई मधेशका जिल्लाका मतदान स्थलमै प्रवेश गरेर मतपत्र बदर गर्ने जनाएका छन् ।

राउतले आफूहरुको मतपत्र बदर अभियान शान्तिपूर्ण हुने र आफूहरु मतदानस्थलसम्मै पुग्ने दाबी गरेका छन् । नेपालआजलाई प्राप्त सिके राउतको अडियो संवादमा उनले संघीयतालाई असफल बनाउन आफूहरुले मतपत्र बदर अभियान थालेको बताइएको छ । उनले मतपत्र बदर गरी आफूहरुको पक्षमा जनमत रहेको पुष्टि गर्न चाहेको बताएका छन् ।

पाँच बर्ष यता सिके राउत नेतृत्वको समुहले संघीयताको विरोध गर्दै स्वतन्त्र मधेशको माग गर्दै आएको छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भएसँगै देश संघीयता संस्थागत गर्ने मार्गमा द्रुत गतिमा अघि बढ्ने देखिएसँगै राउत समुह राजनीतिकरुपमा थप सक्रिय हुन खोजेको छ । सो समुहका नेतृत्वकर्ता राउत अहिले जनकपुरमा छन् ।

राउत समुहले बर्खायाममा निर्वाचन हुनुलाई आफू अनुकुल ठानेको छ । किसान खेतिमा व्यस्त रहने तथा जनसंख्याको ठूलो हिस्सा बैदेशिक रोजगारमा रहेकाले मतदान बहिष्कार र मतपत्र बदर अभियान सफल हुने उसको निष्कर्ष छ ।

गृहमन्त्रालय स्रोतले राउत समुहको क्रियाकलापलाई नजिकबाट नियालिरहेको जनाएको छ । निर्वाचन प्रभावित गर्ने अवाञ्छित गतिविधि भएमा हदैसम्मको कारवाही गर्ने गरी सुरक्षा परिचालन गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।

CK Raut

विशेष