काठमाडौंका मेयर/उपमेयरकालागि १ करोड खर्च गरेर कार्यकक्ष सजावट गरिने
सुरुमै क्रान्तिकारी काम !
जेठ–१७ । काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्यको उदय भएपछि त्यहाँका धमिरा सल्बलाउन थालेका छन् । एक करोड लागतमा नयाँ बंगला तयार हुन्छ तर बागदरबारमा अहिले विद्यासुन्दर शाक्य र हरिप्रभा खड्गी बस्ने कार्यकक्ष सिँगार्ने नाममा एक करोड हावामा उडाइँदैछ । यसरी नयाँ मेयर÷उपमेयरका नाममा खेलोफड्को गर्ने नटरवरलाल हुन् त्यहाँका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की ।
पशुपति शमशेरको आशिर्वाद पाएर महानगर छिरेका उनी सुरुमा चुंगी कर उठाउँथे । केही पशुपतिलाई भेटी चढाउँथे , धेरै आफै कुम्ल्याउँथे । पछि राजाको शासनकालमा उनी राजावादी भए । बीचमा ओवादीको चकचकी हुँदा सच्चा माओवादी बने । अहिले त्यहाँको कमान्ड सम्हाल्न विद्या सुन्दर आइपुगेका छन् । उनी पक्का एमाले बनिसकेका छन् । यसको ज्वलन्त उदाहरण हो केही दिनअगाडि राष्ट्रिय सभागृहमा देखियो । कांग्रेसका राजुराज केसीलाई पछाडि पार्दै विद्यासुन्दर अगाडि लम्कदै थिए । झन्डै पाँच हजारको मतान्तरले अग्रता लिइरहँदा ज्ञानेन्द्रले विद्या सुन्दरलाई सभागृहको डिएसपीका लागि छुट्टयाइएको कार्यकक्षमा सुटुक्क लिएर छिरेको पनि देखियो । त्यहाँ उनले विद्यासुन्दरको चाकडी गर्न थाले ।
–जनआस्था साप्ताहिकबाट