राजनीति

शिवसेना नेपालले चुनावमा भाग नलिने

शिवसेना नेपालले चुनावमा भाग नलिने

वैशाख–१८ । शिव सेना नेपालले स्थानीय तहको निर्वाचनमा सहभागीता नजनाउने निर्णय गरेको छ ।

सरकारले तोकेको स्थानीय तहको निर्वाचनले मुुलुकमा व्याप्त समस्याको निकास दिन नसक्ने शिवसेना नेपालले निर्वाचनमा सहभागिता जनाउनुको अर्थ नहुने सो पार्टीले जिकिर गरेको छ । हिन्दुराष्ट्र र राजसंस्थाको पक्षधर पार्टी शिवसेनाले आइतबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

सो क्रममा पार्टी अध्यक्ष अनिल बस्नेतले भने, ‘यो निर्वाचन एक मिथ्या नाटक मात्रै हो । सरकार र प्रमुख दलहरु समस्या समाधान गर्न होइन, देखावटीका लागि मात्रै चुनावको कुरा गरिरहेका छन् । पछि चुनाव बिथोल्ने पनि यिनीहरु नै हुनेछन् ।’

धर्म निरपेक्षतालाई संस्थागत गर्ने, राष्ट्र विखण्डको बिउ रोप्ने दिशामा नेपालको राजनीति केन्द्रीत भएकोले तत्काल चुनावको अर्थ नभएको अध्यक्ष बस्नेतले बताए ।

‘राष्ट्रिय एकताको प्रतिक राजसंस्थालाई विस्थापित गर्ने यो प्रयास सफल भयो भने यो देशको मालिक नेपाली जनता हुने छैनन् । नेपालीहरुलाई दास बनाएर विदेशीहरुले यहाँ रहेका केही व्यक्तिलाई आफ्नो एजेन्ट बनाएर नेपाल चलाउने सत्य कुरा हामीबीच लुकेको छैन’ शिवसेना नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकाएक पश्चिमाहरुको निर्देशन र इशाइकरणको लागि तथाकथित दलहरुले संविधान कार्यान्वयनको नाममा स्थानीय तहको निर्वाचन घोषणा गर्नु निरर्थक छ ।’

हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाको अभियानमा रहेको शिवसेनाले ७५ सालभित्रैमा अभियान सफल हुने दाबी पनि गरेको छ । अध्यक्ष बस्नेतले भने, ‘नेताहरुको फोहोरी राजनीतिको खेलबाट जनता आजित भइसकेका छन् । अब जनताले राजसंस्था खोजेका छन् । हाम्रो विश्लेषणमा ७५ सालभित्रमा नेपालमा राजसंस्था पुनस्र्थापना हुनेछ ।’

विशेष