राजनीति

खेल विकासमा सरकार प्रतिवद्ध छ - मन्त्री श्रीपाइली

खेल विकासमा सरकार प्रतिवद्ध छ - मन्त्री श्रीपाइली

बैशाख - १८ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताएका छन्। नेपाल तेक्वान्दो सङ्घले राजधानीमा सोमबार आयोजना गरेको ‘अनाथ बालबालिकालाई तेक्वान्दो प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले नेपालको खेलको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए। उनले भने, ‘खेलाडीका लागि अस्पताल निर्माण, खेल विश्वविद्यालय, खेलाडी प्रोत्साहन भत्ता, स्वास्थ्य बिमा, परिचयपत्र वितरण, प्रत्येक विद्यालयमा खेलमैदान निर्माण, प्रत्येक प्रदेशमा रङ्गशाला निर्माणलगायतका कामलाई मन्त्रालयले अगाडि बढाएको छ।’ मन्त्री श्रीपाइलीले सरकारले अनाथ बालबालिकाको सहयोगका लागि पनि विभिन्न कार्यक्रम अगाडि बढाएको उल्लेख गरे। नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले अनाथ बालबालिकालाई तेक्वान्दो खेलाडीमार्फत आत्मबल बढाउन सङ्घले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले अनाथ बालबालिकाको वृत्तिविकासका लागि राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले प्राकृतिक र राजनीतिक घटनाक्रमका कारण आफ्ना अभिभावक गुमाएका अनाथ बालबालिकाका लागि तेक्वान्दो तालिम १० महिनाका लागि सञ्चालन गर्न लागेको जानकारी दिए। उनले विभिन्न आठ संस्थाका दुई सय ५० बालबालिकालाई उक्त तालिम दिइने बताए।

विशेष