राजनीति

महाअभियोगले अस्थिरता बढ्ने र भ्रष्टाचारीलाई संरक्षण पुग्ने - अध्यक्ष लाेहनी

महाअभियोगले अस्थिरता बढ्ने र भ्रष्टाचारीलाई संरक्षण पुग्ने - अध्यक्ष लाेहनी
वैशाख - १८ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषय स्वतन्त्र न्यायालयमाथिको आक्रमण भएको टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसका उपलक्ष्यमा पार्टी निकट ट्रेड युनियनले आयोजना गरेको अन्तक्रियामा उनले मुलुकमा राज्य व्यवस्थापनको समस्या समाधान गर्न नसकेर बिना प्रसङ्ग प्रधानन्यायाधीशलाई महाअभियोग लगाइएकोमा यसले राजनीतिक अस्थिरता बढ्ने र भ्रष्टाचारीलाई संरक्षण पुग्ने बताए। अध्यक्ष लोहनीले देशमा स्थानीय तहको चुनाव बिथोल्ने अभिप्रायका साथ ल्याइएको यो महाअभियोग प्रस्तावले राष्ट्र र जनतालाई अस्थिरतातर्फ धकेल्ने बताए। पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्टले मुलुकमा बढ्दै गएको अस्थिरता र वैदेशिक हस्तक्षेप विरुद्ध राष्ट्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए। यसैबीच नेपाल यातायात महिला चालक समूहले अन्तर्राष्ट्रिय मजदुर दिवसका उपलक्ष्यमा रक्तदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा राष्ट्रिय महिला आयोगका काव अध्यक्ष भगवती घिमिरेले सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आयोगले महिला वर्गको हक, हित तथा अधिकार स्थापनका लागि कार्य गरिरहेको बताइन्। केन्डर हाउसकी सञ्चालिका एवम् समाजसेवी लक्ष्मी तामाङले शिक्षा, स्वास्थ्य र एकल महिलाको सहयोगका लागि आफ्नो संस्था क्रियाशील रहेको जानकारी दिइन्। समूहकी अध्यक्ष मीनाचन्द ठकुरी, व्यवसायी देवी कार्की र दिलमाया श्रेष्ठलगायतले राज्यका प्रत्येक निकायमा संविधानअनुसार महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

Prakash Chanda Lohani

विशेष