राजनीति

काठमाडौँ र ललितपुरबाहेक अन्यमा एमालेको उम्मेदवार तय

काठमाडौँ र ललितपुरबाहेक अन्यमा एमालेको उम्मेदवार तय

वैशाख १९ । नेकपा एमालेले स्थानीय निर्वाचनका लागि काठमाडौँ र ललितपुर महानगरपालिकाबाहेक अन्य महानगरपालिका र उपमहानगरपालिकाका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, धूम्बाराहीमा साेमबार सम्पन्न स्थायी कमिटीको बैठकले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा मानबहादुर बिसी र उपप्रमुखमा मञ्जु गुरुङ, भरतपुर महानगरपालिकाको प्रमुखमा देवी ज्ञवाली र उपप्रमुखमा दिव्या आचार्य, हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा हरिबोल महतका नामबारे निर्णय भएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।  हैटौँडाको उपप्रमुखबारे निधो हुन बाँकी छ ।

यस्तै काठमाडौँ र ललितपुरमा उम्मेदवार चयनबारे मङ्गलबार बिहान पार्टीको स्थानीय कमिटीसँग परामर्श गरी स्थायी कमिटीले निर्णय गर्नेछ । काठमाडौँको प्रमुखका लागि प्रदेश कमिटीबाट जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य र सावित्रा भुसालको नाम सिफारिस भएको छ भने पूर्वप्रमुख केशव स्थापित पनि दाबेदार छन् । सबैका विषयमा बैठकमा छलफल भएको बुझिएको छ । पहिलो चरणमा यही वैशाख ३१ हुने स्थानीय निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

गोरखापत्रमा

एमाले नेकपा एमाले

विशेष