राजसंस्थालाई दुहुनो गाई बनाएको भन्दै ‘गाई पार्टी’का थापाविरुद्ध आक्रोश
वैशाख–१९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी फुटाउन पूर्वराजा ज्ञानेन्द्र शाहले षडयन्त्र गरेको आरोप लगाएपछि राजावादी समूहहरु थापाविरुद्ध खनिएका छन् ।
सोमबार राजधानी आयोजित एक कार्यक्रममा राजावादी संघसंस्थाका प्रतिनिधिहरुले अध्यक्ष थापाले राजसंस्थालाई दुहुनो गाइ बनाएको आरोप लगाए । कार्यक्रममा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका महा–सचिव अस्मिता भण्डारीले राप्रपा अध्यक्ष थापाका पछिल्ला अभिव्यक्तिलाई द्वेध चरित्रको संज्ञा दिईन् ।
राप्रपाको वर्तमान राजनीतिक हैसियत बनाउने राजसंस्था भएको बताउँदै भण्डारीले भनिन्, ‘दानापानी उस्कै खाने, दुध अन्तै दिने गाई हुनुको कुनै अर्थ छैन, आज कमल थापाले भन्दै हुनुहुन्छ, मेरो पार्टी फुटाउने राजा ज्ञानेन्द्र हुन, यो वाक्य कुन मुखले बोलिरहेका छन् मेरो प्रश्न छ ।’ स्वतन्त्र न्यायापालिकामाथि वर्तमान नेतृत्व पूर्वाग्रही रुपमा खनिएको बताउदै भण्डारीले प्रधानन्यायाधीश कार्कीमाथि लगाईएको महाअभियोग प्रस्ताव तत्काल खारेज गर्न सरकारलाई आग्रह समेत गरिन् ।
उनले देश चलाउनको लागि वर्तमान दलहरू असफल भएको आरोप लगाउँदै राजसंस्थालाई कुनै न कुनै रुपमा पुर्नस्थापना गर्नुपर्नेमा विश्वहिन्दु महासंघ लागिरहेको स्पष्ट पारिन् । कार्यक्रममा हाम्रो नेपाल पार्टीका अध्यक्ष भैरव कार्कीले प्रधानन्यायाधिश कार्कीमाथिको महाअभियोग प्रस्ताव तत्काल फिर्ता गर्नुपर्ने माग गरे ।
कार्यक्रममा नेपाल समता पार्टीका पासाङ गोपर्मा, मितेरी पार्टी नेपालका अध्यक्ष घनेन्द्र कहादुर बस्नेत, नेपाल राष्ट्रवादी पार्टीका अध्यक्ष दोर्जे लामा, राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष सिदार्थ अधिकारी, नेपाली समता पार्टीका अध्यक्ष पासाङ गोर्पमा र महा–सचिव विक्रम कुँवर लगायतले आफ्ना बिचार राखेका थिए ।