चारवटै महानगरमा कांग्रेस र माओवादीका उम्मेदवार चयन
वैशाख - १९ । नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ ।
दुई दिनदेखि जारी कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले आज सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।
पार्टीले काठमाडौँ महानगरपालिका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गी, पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाह तथा ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जन र गीता सत्यालको टुङ्गो लगाएको उनले बताए ।
यही वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा हुदैछ । त्यसका लागि निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ ।
पहिलो चरणको निर्वाचन हुने तीन प्रदेशमा चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा एक सय ८६ गाउँपालिका छन् ।