यस्ता छन्, पोखरा महानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार
वैशाख १९ । पोखरा–लेखनाथ महानगरपालिकामा यही वैशाख ३१ गते हुने निर्वाचनका लागि प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यका लागि मंगलबार दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला समन्वय समितिको कार्यालयस्थित निर्वाचन कार्यालयमा दलहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसले प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङको उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेले प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मन्जु गुरुङको उम्मेदवारी दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रले प्रमुखमा विश्वप्रकाश लामिछाने र उपप्रमुखमा गोमा ढकाललाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुखमा गीता गुरुङ र उपप्रमुखमा रमेशबहादुर खत्रीको उम्मेदवारी परेको छ ।
त्यस्तै, महानगरपालिकाका लागि समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट प्रमुखमा हुम गुरुङ र उपप्रमुखमा लक्ष्मी खाती परियारको उम्मेदवारी दर्ता भएको छ । प्रमुख राजनीतिक दलका साथै विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्तासमेत भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरू पोखराका विभिन्न स्थानबाट बाजागाजा र र्यालीसहित निर्वाचन कार्यालय पुगेका थिए ।
Pokhara