राजनीति

निर्वाचन बहिष्कारका कमाण्डर महानगर प्रमुखका प्रत्यासी

निर्वाचन बहिष्कारका कमाण्डर महानगर प्रमुखका प्रत्यासी

वैशाख २० । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका बेला गोर्कीप्रसाद श्रेष्ठ निर्वाचनलाई बहिष्कार गर्दै मतदानमा सहभागी भएनन् ।

त्यतिबेला श्रेष्ठले आफू मात्र होइन अरूलाई समेत सहभागी नहुन भन्दै सक्रियतापूर्वक निर्वाचन बहिष्कार गरेका थिए । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी तत्कालीन नेकपा–माओवादीले संविधानसभा निर्वाचन बहिष्कार गरेसँगै उनी पनि निर्वाचनको प्रतिरोधमा उत्रिए । तिनै श्रेष्ठले ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकारसमेत रहेका श्रेष्ठले पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट स्वतन्त्र रूपमा मेयरका लागि मनोनयन दर्ता गरेका हुन् ।

उनीसँगै पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरका लागि सावित्री खरेलले मनोनयन दर्ता गराएकी छन् । दोस्रो संविधानसभा निर्वाचन बहिष्कारका लागि उनी काठमाडौंमा खटिएकी थिइन् । उनलाई पार्टीले अमर आदर्श स्कुल मतदान केन्द्रलाई केन्द्रमा राखेर निर्वाचन विरोधी गतिविधि र निर्वाचन बिथोल्नका लागि नेतृत्व दिएको थियो । ‘हामीले यसपटक निर्वाचनलाई उपयोग गर्दै जाने निर्णय गरेका छौं,’ उनले भनिन्, ‘त्यसैले पनि निर्वाचनमा सहभागी भएर जनतासँग विकासका गतिविधिमा सहभागी हुन उम्मेदवारी दिएका हौं ।’ उनले निर्वाचन बहिष्कार गर्दा प्रश्न गर्नेहरू अहिले निर्वाचनमा सहभागी हुँदासमेत प्रश्न उठाइरहेको भन्दै आश्चर्य व्यक्त गरिन् ।

राजधानी

विशेष