राजनीति

संसद खरिद बिक्री गरेर बस्ने बेला होइन - भट्टरार्इ

संसद खरिद बिक्री गरेर बस्ने बेला होइन - भट्टरार्इ
  वैशाख - २० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्तारुढ दलले अघि सारेको संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्ताव दुवै फिर्ता लिनुपर्ने बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले दुवै प्रस्ताव फिर्ता नलिए आफ्नो पार्टीले सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए । उनले भने, ‘प्रचण्ड सरकारले बुद्धि पुर्याउँछ भने यो संशोधन विद्येयक फिर्ता लिनुपर्छ। अब संशोधन प्रस्तावको औचित्य छैन, किनकि देश निर्वाचनमा होमिसकेको छ। अब पनि संसद खरिद बिक्री गरेर बस्ने बेला होईन।’ भट्टराईले काँग्रेसको कामकारबाही जनहितमा नभएको समेत आरोप लगाए। उनले भने, ‘काँग्रेस फेरि पनि तिनैको हातमा गयो, जसले ०५१ सालमा संसद किनबेच गर्ने काम गर्यो। हाम्रो देश पछि पर्नुको प्रमुख कारण नै काँग्रेसले लिएको अस्थिर नीति हो, र कमजोर नेतृत्व हो।’ उनले काँग्रेस नै नेपालको अस्थिर राजनीतिको जननी भएको दोष लगाए । उनले देश पछि पर्नुको अर्को कारण भने माओवादीले थालेको सशस्त्र युद्ध अर्थात हिंसाको राजनीति रहेको बताए । उनले भने,‘यही दुईवटा कारणले गर्दा आज विदेशी शक्तिले नेपालमा खेलिरहेको छ।’ दुई दशकपछि नेपालमा स्थानीय तहको निर्वाचन हुन गैरहेकोले यसमा जनताहरुको उत्साहजनक सहभागिता रहेको समेत सचिव भट्टराईले स्पष्ट पारे। उनले एमालेको सुदृढ संगठन, बलियो जनाधार र एकताबद्ध नेतृत्व र सबल राख्नको लागि यो चुनाव आफ्नो पार्टीले नै जित्ने बलियो आधार पेश गरे । उनले राप्रपासँग पार्टीले चुनावी तालमेल गरेको विषयलाई नौलो विषयको रुपमा नहेर्न समेत आग्रह गरे । भट्टराईले थपे,‘कमल थापा सबैको नेतृत्व रहेको सरकारमा सहभागी हुनुभएको छ, ओलीजीसँग पनि हुनुभएको छ, क्रान्तिकारी पार्टी माओवादी अध्यक्ष प्रचण्डको नतृत्वमा पनि मन्त्री बन्नुभएको छ, यो नौलो कुरा होईन।’ उनले स्थानीय तथा राष्ट्रिय आवश्यकत्ताले गर्दा एमालेले चुनावी तालमेल गरेको स्पष्ट पारे ।

विशेष